काठमाडौं । विश्व लगानीकर्ता सप्ताह, २०२४ को अवसर पारेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विवेकशील लगानीकर्ताको विशेषता सार्वजनिक गरेको छ ।
धितोपत्र बजारमा लगानी गर्दा जोखिम हुने कुरालाई मध्यनजर गर्दै नेप्सेले विवेकशील लगानीकर्ता यो बजारमा सफल हुने संकेत गरेको छ । नेप्सेले विभिन्न सात बुँदामा विवेकशील लगानीकर्ताको विशेषतालाई उल्लेख गरेको छ ।
१. विवेकशील लगानीकर्ताले वर्तमान द्रुत गतिको लगानी वातावरणमा पनि लगानी निर्णय गर्दा पर्याप्त समय लिएर आवश्यक सूचना सङ्कलन गर्छ ।
२. विवेकशील लगानीकर्ताले लगानीमा डिजिटल उपकरणहरूको कसरी प्रयोग गर्ने भन्ने कुरा बुझेको हुन्छ । ती उपकरणहरूले सम्भावित हानि नोक्सानी वा धोखाधडीलाई रोक्न सक्दैनन् भन्ने थाहा पाएको हुन्छ । प्रत्येक लगानीको अवसरबारे नियमितरूपमा स्वतन्त्र र गहिरो अनुसन्धान गर्छ ।
३. विवेकशील लगानीकर्ताले अनलाइनमार्फत आउने जानकारी आधिकारिक र विश्वसनीय हो कि होइन भन्ने छुट्याउन सक्छ ।
४. विवेकशील लगानीकर्ताले कथित विश्लेषक (फिनफ्लुएन्सर)हरूको आफ्नै स्वार्थ हुन्छ, उनीहरूले पैसा लिएर लगानीका अवसरहरूबारे बोलिरहेका हुन सक्छन् भन्ने कुरा बुझेको हुन्छ ।
५. सामाजिक सञ्जालका फिनफ्लुएन्सरहरूले उसलाई पछ्याउने सबैको व्यक्तिगत परिस्थिति थाहा पाउँदैन, त्यसैले उसका सिफारिसहरू आफूलाई अनुकूलन हुनसक्छ भन्ने कुरा विवेकशील लगानीकर्ताले बुझेको हुन्छ ।
६. विवेकशील लगानीकर्ता एआई, गेमिफिकेसन, मेटाभर्स लगायतका नयाँ प्रविधिले लगानी गर्ने नयाँ तरिका दिन्छन् तर आफ्नै मनोवैज्ञानिक तथा अन्य व्यवहारगत पूर्वाग्रहका कारण लगानीबाट सोचेजस्तो नतिजा नआउन पनि सक्छ भन्ने कुरामा सचेत हुन्छ ।
७. विवेकशील लगानीकर्ताले ठूला लगानीकर्ता वा अनुभवी लगानीकर्ताले गर्ने कारोबारको नक्कल गर्दा सावधानी अपनाउँछ । उसको जोखिम बहन गर्ने क्षमता, अनुभव र स्रोत अनुसार बनाएको लगानी रणनीति आफ्ना लागि मिल्छ कि मिल्दैन थाहा पाउँछ ।
नेप्सेका यी बुँदाहरूलाई आकलन गरेर आम लगानीकर्ताले आफ्नो विवेकलाई मूल्याङ्कन गर्न सक्नेछन् । धितोपत्र बजारका नियामकहरूको अन्तरराष्ट्रिय संगठन इन्टरनेशनल अर्गनाइजेशन अफ सेक्युरिटिज कमिसन्स (आईओएससीओ) ले २०१७ सालदेखि नै विश्व लगानीकर्ता सप्ताह मनाउँदै आएको छ ।
सोही अवसरमा नेपालमा पनि कात्तिक ६ गतेदेखि १२ गतेसम्म पूँजीबजार साक्षरता तथा प्रशिक्षण कार्यक्रमहरू गरी मनाइँदैछ । सोही अवसर पारेर नेपालमा एक मात्र धितोपत्र दोस्रो बजार सञ्चालकको रूपमा रहेको नेप्सेले आम लगानीकर्तालाई सचेत गराउने खालको विवेकशील लगानीकर्तासम्बन्धी जानकारीमूलक सामग्री सार्वजनिक गरेको हो ।