काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चैत २५ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रति ऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने जानकारी दिएको छ । कुल कित्ता ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरूमा विक्री गरिनेछ भने ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणमा विक्री हुनेछ ।
सर्वसाधारणमा विक्री हुने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । निष्कासन मिति छिटोमा चैत २८ गतेसम्म तोकिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा २०८२ बैशाख ८ गतेसम्म निष्कासन लम्बिनेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ । बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्ने आईआरएन इस्यूअर ट्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यो ऋणपत्रका लागि तोकिएको ७ प्रतिशत ब्याज प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गर्ने जानकारी बैंकले दिएको छ ।