वैशाख २१, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको ९ महीनामा रू. १ करोड ८६ लाख ५० हजार खुद नाफा गरेको छ ।
कम्पनीले यस वर्ष गत वर्षको भन्दा ५५ दशमलव ८८ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ करोड १९ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
कम्पनीको सञ्चालन मुनाफा ५६ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. ३ करोड १२ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा १ करोड ९९ लाख रूपैयाँ आर्जन गरको थियो ।
एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ५३ दशमलव ७१ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ३ करोड ४२ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ५ करोड २६ लाख रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५ दशमलव ९७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २१ दशमलव ६२ प्रतिशत बढेको छ ।
कम्पनीको खराब कर्जा ३ दशमलव १७ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ३४ दशमलव १० प्रतिशत, मूल्य आम्दानी अनुपात ३७ दशमलव १८ गुणा छ भने प्रतिशेयर नेटवर्थ १४८ दशमलव १८ छ ।
हाल कम्पनीको चुक्तापूँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी ५६ दशमलव २५ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ थियो ।