काठमाडौं । २०८० चैतको तुलनामा गत वर्षको चैतमा खुद्रा मूल्य वृद्धिदर घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८१ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.६१ प्रतिशत रहेको थियो ।
समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.२२ प्रतिशत र ४.२० प्रतिशत रहेको थियो ।
समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, दाल तथा गेडागुडीको ६.५८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको छ ।
यस्तै, तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२४ प्रतिशत, मरमसलाको २.३२ प्रतिशत र माछा तथा मासुको ०.८९ प्रतिशतले घटेको छ ।