अन्तरराष्ट्रिय मुद्राकोषले छाया बैंकहरूले गरेका जोखिमपूर्ण लगानीले अहिले विश्वमा नै नयाँ प्रकारको वित्तीय जोखिमलाई निम्त्याएको र त्यसले कालान्तरमा प्रणालीगत जोखिमलाई बढावा दिने चेतावनी दिएको छ । बेलायतमा मात्र अपारदर्शी रूपमा सञ्चालित झन्डै सवा २ खर्ब डलर बराबरको छाया बैंकिङले प्रवाह गरेको व्यक्तिगत कर्जाको आकारलाई यसै गरी मौलाउन दिने हो भने त्यसले छिटै नै प्रणालीगत संकटलाई अवश्यंभावी बनाउने भनी मुद्राकोषले सचेत गराएको छ । उसको भनाइमा औपचारिक बैंकिङमा भएको न्यून ब्याजदरले एकातिर छाया बैंकिङले मौलाउने अवसर पाएको छ भने अर्कोतिर छाया बैंकिङमा नियमन कमजोर भएकाले यसले त्यस्तो जोखिमको सम्भावना देखिएको छ । मुद्राकोषले बेलायतको सन्दर्भमा व्यक्त गरेको चिन्ताको आलोकमा यो सानो आलेखमा छाया बैंकिङका विविध पक्षबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
छाया बैंकिङ
अंग्रेजीमा एउटा प्रसिद्ध उक्ति छ– ‘यदि यो हाँसजस्तै देखिन्छ, हाँसजस्तै हिँड्छ, हाँसजस्तै पौडन्छ र हाँसजस्तै कराउँछ भने यो पक्कै पनि हाँस नै हुनुपर्छ ।’ तर, छाया बैंकिङको सन्दर्भ भने फरक छ । बैंकजस्तै कार्य गर्छ, बैंकजस्तै देखिन्छ र बैंकजस्तै गतिविधि गर्छ तापनि त्यसलाई बैंक भन्न मिल्दैन । त्यसैले यस्तालाई छाया बैंक भन्न थालियो ।
अमेरिकाको विशाल कम्पनी ‘ले म्यान ब्रदर्स’को अवसान हुनुभन्दा १ वर्षअघि सन् २००७ मा अमेरिकी अर्थशास्त्री एवम् लगानी व्यवस्थापन गर्ने प्रसिद्ध अमेरिकी कम्पनी ‘पिम्को’का पूर्वप्रबन्ध निर्देशक पल म्याकल्लीले यो शब्द पहिलोपल्ट प्रचलनमा ल्याएका रहेछन् । परम्परागत रूपमा बैंकहरूले प्रदान गर्ने निक्षेप तथा ऋणसम्बन्धी प्राय: सबै सेवा प्रदान गर्ने गरी गैरबंैंकिङ संस्था, व्यक्ति वा तिनीहरूको झुन्डले सञ्चालन गर्ने वित्तीय कारोबारलाई यो शब्दले समेटेको छ । नियमित बैंकिङ प्रणालीभन्दा बाहिर हुने यस्ता कारोबार कुनै निर्दिष्ट कानून, नियम वा नियमनकारी निकायको नियन्त्रण एवं निगरानीबाट मुक्त रहन्छन् । त्यसैले छाया बैंकिङका प्रतिनिधि संस्थाका रूपमा बैंकिङ कारोबार गर्ने गैरबैंकिङ संस्थालाई लिन सकिन्छ । इन्भेष्टमेन्ट बैंकहरू, मोर्टगेज प्रदान गर्ने कम्पनीहरू, मनी मार्केट फन्डहरू एवं बीमा तथा पुनर्बीमा कम्पनीहरूलाई पनि छाया बैंकिङको उदाहरणका रूपमा लिने गरिन्छ । छाया बैंकिङ कारोबार गर्ने संस्थाहरू पर्याप्त बचत भएका व्यक्ति तथा सहजै ऋण प्राप्त गर्न खोज्ने व्यक्तिका बीच मध्यस्थकर्ताको भूमिकामा रहेका हुन्छन् । यसरी बैंकिङ प्रणालीबाहिर कर्जा तथा निक्षेपको माग तथा आपूर्तिको अवस्था विद्यमान हुँदा स्वाभाविक रूपमा छाया बैंकिङको अवस्था सृजना हुन जान्छ ।
परम्परागत बैंकिङमा मुद्राको सृजना हुन्छ भने छाया बैंकिङले यसरी मुद्रा सृजना गर्न सक्दैन । दोस्रो भिन्नता नियमनसँग सम्बद्ध छ । परम्परागत बैंकिङहरू जसरी कडा किसिमको निगरानी, पारदर्शिता र नियमनमा छाया बैंकिङ रहेको हुँदैन ।
छाया बैंकिङका खास गरी चार विशेषता हुन्छन् । पहिलो त्यहाँ बैंकमा जस्तै वितीय कारोबार भएको हुन्छ । दोस्रो परम्परागत बैंकिङको विपरीत यस्ता बैंकहरूमा लचकता पूर्ण नियमन रहेको हुन्छ र यसैको कारण त्यसले प्रणालीगत जोखिमलाई निम्ता दिने अवस्था रहन्छ । तेस्रो विशेषता भनेको यिनीहरूको सञ्चालन अपारदर्शी ढंगले हुनु हो । चौथो विशेषताका रूपमा भने जतिसुकै जोखिमपूर्ण भए तापनि विविध कारणले परम्परागत बैंकिङ सेवा उपभोग गर्न नसक्ने अथवा तीप्रति पहुँच नभएका वर्गसम्म वित्तीय पहुँच पुर्याउन यो अपरिहार्य छ । त्यसैले पनि एक निश्चित सीमासम्मको छाया बैंकिङलाई लाभकारी मानिन्छ ।
फिनान्सियल स्टाबिलिटी बोर्डले नियमनको परिधि बाहिर रहेर विशुद्ध बैंकिङ कारोबार गर्ने तथा कर्जाको मध्यस्थकर्ताको भूमिकामा रहेका संस्थालाई छाया बैंकिङको दायरामा समेटेको छ । यस्ता मध्यस्थकर्ताले बचतकर्ताबाट पैसा लिएर ऋणीलाई उपलब्ध गराउने गर्छन् । सन् २००८ को विश्व–आर्थिक संकटको लागि छाया बैंकिङलाई धेरै हदसम्म जिम्मेवार मानिन्छ ।
परम्परागत बैंकिङसँगको भिन्नता
छाया बैंकिङ परम्परागत बैंकिङभन्दा धेरै अर्थमा भिन्न देखिन्छ । पहिलो भिन्नता मुद्राको सृजनामा देखिन्छ । परम्परागत बैंकिङमा मुद्राको सृजना हुन्छ भने छाया बैंकिङले यसरी मुद्रा सृजना गर्न सक्दैन । दोस्रो भिन्नता नियमनसँग सम्बद्ध छ । माथि नै उल्लेख गरिएअनुसार परम्परागत बैंकिङहरू जसरी कडा किसिमको निगरानी, पारदर्शिता र नियमनमा छाया बैंकिङ रहेको हुँदैन । तेस्रो, परम्परागत बैंकिङले निक्षेपका रूपमा प्राप्त गर्ने सर्वसाधारणको रकमलाई परिचालित गरेर कारोबार गर्छन् भने छाया बैंकिङमा धेरैजसो ऋणपत्र, शेयरजस्ता विविध वित्तीय उपकरणमार्फत स्रोतको जोहो गरिएको हुन्छ । चौथो, निक्षेपको सुरक्षणसँग सम्बद्ध छ । परम्परागत बैंकिङमा केही निश्चित सीमासम्मको निक्षेपमा बीमा गरेर सुरक्षित गरिएको हुन्छ भने छाया बैंकिङमा यस प्रकारको निक्षेप माथिको सुरक्षण हुँदैन । पाँचौं, संकटको समयमा परम्परागत बैंकिङले केन्द्रीय बैंकमार्फत जसरी विभिन्न सुविधा प्राप्त गर्छ, छाया बैंकिङले यस्तो सुविधा पाउने सम्भावना रहँदैन ।
मौलाउने वातावरण
देशमा विद्यमान नियमनकारी निकायको निगरानीबाट मुक्ति पाइने, कानूनी प्रावधानहरू परिपालन गर्नु नपर्ने तथा करबाट पनि उन्मुक्ति पाइनेजस्ता कारणले गर्दा छाया बैंकिङ अस्तित्वमा रहने र यसले मौलाउने अवसर पाउँछ । अर्कोतर्फ अन्तरराष्ट्रिय रूपमा बढ्दो प्रविधिको विकासले पनि छाया बैंकिङ विकासमा उल्लेखनीय योगदान दिएको छ ।
वित्तीय बजारमा नयाँ स्रोतको जोहो गर्ने निकायका रूपमा छाया बैंकिङको विकास भएको पाइन्छ । लगानी तथा कर्जा प्रवाह गर्न पाउने तर त्यसका लागि आवश्यक पर्ने पूँजी तथा तरलताका बारेमा चासो दिन नपर्ने ‘उर्वरता’ को कारणले पनि छाया बैंकिङले च्याउजस्तै स्वत: उम्रने वातावरण पाइरहेको हुन्छ । जतिसुकै रकम पनि विना कुनै स्रोत जम्मा गर्न तथा जुनसुकै क्षेत्रमा पनि निर्बाध लगानी गर्न पाउने ‘अवसर’का कारण पनि छाया बैंकिङ व्यवसाय फस्टाएको देखिन्छ ।
एकदुई वर्षयता नेपालमा तरलता तथा ब्याजदरमा उतारचढाव आउनुमा छाया बैंकहरूको पनि अहम् भूमिका रहेको तथ्यलाई मनन गर्दै नेपालमा पनि वित्तीय तथा देशको समग्र आर्थिक स्थिरताका लागि मौलाउँदो छाया बैंकिङमाथि पर्याप्त निगरानी र नियन्त्रण कायम राखी बलियो नियमनको व्यवस्थाका साथ पारदर्शी बनाउन अब ढिला भइसकेको छ ।
नकारात्मक प्रभाव
छाया बैंकिङ प्रणालीले सन् २००७–२००८ को वित्तीय संकटलाई उजिल्याउन र फैलाउन केन्द्रीय भूमिका खेलेको बताइन्छ । यस्ता अनौपचारिक क्षेत्रमा व्यापक मात्रामा रहेको ‘निक्षेप जोखिम’ तथा कमसल तथा पर्याप्त धितोविनाको लगानीका कारण प्रवाहित कर्जामा भएको ‘असुलीको जोखिम’ उक्त मन्दीका लागि थप कारक थिए ।
औपचारिक अनुमति प्राप्त भएको अवस्था नहुनु र नियमन तथा नियन्त्रण पनि नहुने कारणले गर्दा छाया बैंकिङ कारोबारमा व्यापक मात्रामा जोखिम विद्यमान रहनु स्वाभाविक नै हो । नियामक निकायको निगरानीको अभावमा यस्ता क्षेत्रमा हुने वित्तीय अपराधहरूलाई पहिचान तथा नियन्त्रण गर्नसमेत कठिन हुन्छ ।
जुनसुकै देशमा पनि छाया बैंकिङले अल्पकालमा त्यति गहिरो प्रभाव नदेखाए पनि दीर्घकालमा भने त्यसले समग्र अर्थतन्त्रमा नै वित्तीय जोखिम बढाउने अधिक सम्भावना हुने भएकाले यसको आकार जहिले पनि निश्चित दायराभित्र नियन्त्रणमा राखिनु वाञ्छनीय हुन्छ । यसै पनि छाया बैंकिङले कालान्तरमा देशको अर्थ प्रणाली माथि संकटको सृजना गरी प्रणालीगत जोखिम निम्त्याउने कुरामा कुनै शङ्का छैन ।
मुद्राकोषले पनि अपारदर्शी हुनुका साथै विभिन्न आर्थिक क्षेत्रसँग अन्तरसम्बद्ध भएकाले पनि छाया बैंकिङको तीव्र वृद्धिले वित्तीय प्रणालीमा नै प्रणालीगत जोखिमको सम्भावना देखिन्छ । साथै नियामकीय निरीक्षणको सीमामा नहुने मात्र होइन, यसले आफ्ना स्वामित्व, सम्पत्तिको मूल्य, पूँजीको अवस्था, नाफानोक्सान हिसाबलगायत कतिपय तथ्यांक तथा अवस्थाहरू सार्वजनिक पनि गर्नु नपर्ने भएकाले अर्थतन्त्रमा देखिने सानातिना झट्काले पनि यसलाई छिट्टै प्रभावित पार्ने हुन्छ ।
छाया बैंकिङले पार्ने नकारामक प्रभावहरूलाई निम्नअनुसार बुँदामा प्रस्तुत गर्न सकिन्छ–
१. वित्तीय अस्थिरता : छाया बैंकिङमा देखिने समस्याले नियमनमा रहेका अन्य बैंकहरूमा समेत समस्या देखिएर त्यसले वित्तीय अस्थीरतालाई जन्म दिने सम्भावना रहन्छ । नेपालमा पनि अहिले सहकारीमा देखिएका समस्याले बैंक तथा वित्तीय क्षेत्रहरूलाई समेत बिस्तारै गाँज्दै लगेको देखिएकै हो ।
२. उपभोक्ताहरू शिकार हुने सम्भावना : छाया बैंकिङ पारदर्शी नहुने भएकाले यसका उपभोक्ताले जोखिमबारे आकलन गर्न कठिन हुन जान्छ । यसबाट संकटका बेला छाया बैंकिङका ग्राहक बढी पीडित हुनुपर्ने सम्भावना देखिन्छ । अहिले नेपालमा पनि वर्षौंदेखि सहकारीमा राखिएको पैसा डुबेर लाखौं सर्वसाधारण अनियन्त्रित र अनियमित रूपमा सञ्चालित सहकारी समस्याको शिकार भई नै रहेका छन् ।
३. नियामकलाई चुनौती : पारदर्शिता तथा उचित विनियमको अभाव हुने हुनाले छाया बैंकिङमा निहित जोखिम मूल्यांकन गरी तिनलाई नियमनको दायरामा समेट्न निकै नै चुनौतीपूर्ण हुन्छ ।
सकारात्मक प्रभाव
कालान्तरमा नकारात्मक हुने भए पनि छाया बैंकिङले देशको वित्तीय क्षेत्रमा सकारात्मक योगदान पनि दिइरहेको हुन्छ । परम्परागत बैंकिङमाथिको निर्भरतालाई अन्त्य गरेर आम जनतालाई बचत तथा कर्जामाथि पहुँच स्थापित गराउन यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । साथै यसले वित्तीय प्रणालीमा विविधीकरण गर्न पनि मद्दत पुर्याइरहेको मानिन्छ । नेपालकै सन्दर्भमा पनि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता ठूला बचत तथा ऋण परिचालन गर्ने छाया बैंकिङका प्रतिनिधि निकायहरू नै बैंकिङ प्रणालीमा भएका अधिकांश निक्षेपको आपूर्तिकर्ता रहेका छन् ।
त्यसै कारणले कतिपय अवस्थामा छाया बैंकिङलाई परम्परागत बैंकहरूको परिपूरकका रूपमा पनि लिइन्छ । हुन पनि हाम्रै देशमा पनि औपचारिक बैंकहरूले समेट्न नसकेका क्षेत्रमा यस्ता अनौपचारिक संस्थाहरूले पुर्याएको ‘बैंकिङ’ योगदानको फलस्वरूप तत्तत् क्षेत्रका सर्वसाधारणले वित्तीय सुविधाहरू उपभोग गर्न पाएको देखिन्छ । विशेष गरी साना व्यवसाय एवं सीमान्त जनतालाई वित्तीय सेवा प्रदान गरेर आर्थिक गतिविधि चलायमान गर्न यसको छाया बैंकिङले अहम् भूमिका निर्वाह गर्छ ।
विश्व–सन्दर्भ
अपारदर्शी कारोबार हुने भएकाले छाया बैंकिङको आकारको बारेमा यकीन तथ्यांक त उपलब्ध छैन तापनि विकसित राष्ट्रहरूको समूह ‘जी २०’ मा आबद्ध राष्ट्रहरू सदस्य रहेको फिनान्सियल स्टाबिलिटी बोर्डले करीब ४ वर्षअघि जारी गरेको तथ्यांकअनुसार विश्वमा करीब ५२ खर्ब डलर जति छाया बैंकिङमार्फत कारोबार हुने गरेको थियो । सन् २००७ मा ६२ खर्ब डलर रहेको छाया बैंकिङको विश्व तथ्यांक २०१५ मा आइपुग्दा ९२ खर्ब डलरसम्म पुगेको थियो । तर, अहिले यो केही घटेको देखिन्छ ।
विश्वभर हुने छाया बैंकिङको कारोबार राशिमध्ये करीब १ तिहाइ अंश यूरोपको रहेको देखिन्छ र यूरोपमा पनि बेलायतलाई सबैभन्दा बढी छाया बैंकिङ भएको मुलुक मानिन्छ्र त्यसपछि स्वीजरल्यान्ड, लक्जेमबर्ग र आयरल्यान्ड क्रमश: ठूला छाया बैंकिङको उपस्थिति रहेका मुलुक हुन् ।
भारतको कुरा गर्ने हो भने त्यहाँ पनि छाया बैंकिङको अंश कुल गार्हस्थ्य उत्पादनको २१ प्रतिशत र अमेरिकामा करीब २८ प्रतिशतको हाराहारीमा रहेको अनुमान छ ।
नेपाली सन्दर्भ र चाल्नुपर्ने कदम
आर्थिक वर्ष २०७४–७५ को आर्थिक सर्वेक्षणमा औपचारिक रूपमै छाया बैंकिङका बारेमा उल्लेख गरेर त्यसले देशको समग्र अर्थतन्त्रमा र विशेष गरी वित्तीय क्षेत्रमा पार्ने प्रभावहरूका बारेमा चर्चा प्रारम्भ भएको भए पनि सोहीअनुरूप छाया बैंकिङलाई निरुत्साहित गर्ने गरी नेपालमा खास पहलहरू भएको पाइँदैन ।
टोलटोलमा हुने ढुकुटी कारोबार, तीसौं हजारको संख्यामा रहेका बचत, ऋण तथा बहुउद्देश्यीय सहकारी संस्था एवम् हजारौंको संख्यामा रहेका लघुवित्त कम्पनीमार्फत हुने कथित ‘बैंकिङ’ कारोबारको मात्र होइन, संसारभर व्याप्त हुन्डीको समेत नेपालमा अधिक कारोबार हुनुले यहाँ छाया बैंकिङ कुन रूपमा मौलाइरहेको छ, सजिलै अनुमान गर्न सकिन्छ ।
एक अध्ययनअनुसार नेपालमा कुल जीडीपीको ४० प्रतिशतभन्दा बढी छाया अर्थतन्त्र रहेको र त्यसको अधिकांश अंश छाया बैंकिङले नै ओगटेको आकलन छ । नेपालमा औपचारिक बैंकिङ प्रणालीमा भएका सम्पूर्ण निक्षेप रकमको करीब १५ प्रतिशत हाराहारीमा हुन आउने रकम छाया बैंकिङ प्रणालीमा रहेको पनि बताइन्छ । यसैले पनि केही ठूला सहकारीका कारोबारमा निहित जोखिमहरू अन्ततोगत्वा प्रत्यक्षत: औपचारिक बैंकिङ प्रणालीतर्फ नै स्थानान्तरण भइरहेका देखिन्छन् ।
यिनै परिप्रेक्ष्यमा नेपाल सरकारले समेत छाया बैंकिङलाई निरुत्साहन गर्न बैंक तथा वित्तीय संस्थाको नियमन र व्यवस्थित सञ्चालनमा जोड दिएको छ । सहकारीहरूलाई समेत नेपाल राष्ट्र बैंकले नियमन गर्ने व्यवस्था हालै मात्र मिलाइएको छ । औपचारिक कारोबारको भुक्तानी अनौपचारिक माध्यमबाट हुने गरेको र आर्थिक क्षेत्रको ठूलो अंश औपचारिक क्षेत्रभन्दा बाहिर रहेका कारण अर्थतन्त्रको वास्तविक आकार नै पहिचान हुन नसकेको अवस्थालाई अन्त्य गर्न सबै स्थानीय तहमा बैंकका शाखामार्फत औपचारिक रूपमा वित्तीय पहुँच स्थापित गर्ने प्रयास पनि भएको छ ।
तर, यी प्रयास सार्थक देखिएका छैनन् । एकदुई वर्षयता नेपालमा तरलता तथा ब्याजदरमा उतारचढाव आउनुमा छाया बैंकहरूको पनि अहम् भूमिका रहेको तथ्यलाई मनन गर्दै नेपालमा पनि वित्तीय तथा देशको समग्र आर्थिक स्थिरताको खातिर मौलाउँदो छाया बैंकिङमाथि पर्याप्त निगरानी र नियन्त्रण कायम राखी बलियो नियमनको व्यवस्थाका साथ पारदर्शी बनाउन अब ढिला भइसकेको छ ।
यसका अतिरिक्त वित्तीय क्षेत्रका नियामक र छाया बैंकिङ सञ्चालन गरिरहेका निकाय पारस्परिक सहकार्यले सम्भावित जोखिम पहिचान गरी तिनलाई समयमै व्यवस्थापन गर्नसमेत सघाउ पुर्याउने देखिन्छ । छाया बैंकिङजन्य जोखिमका बारेमा आम रूपमा जनचेतना फैलाएर पनि यसको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।
लेखक सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।