काठमाडौं । यही साउन ५ गतेदेखि विक्रीमा आएको लक्ष्मी भ्यालु फण्ड २ को इकाई साउन १९ गतेसम्म विक्रीमा रहने भएको छ ।
छिटो अवधि साउन ९ गतेभित्र मागबमोजिम आवेदन नपरेपछि योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन १९ गतेसम्मको अवधि थप गरेको हो । यस फण्ड सञ्चालनका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई विक्री खुला गरिएको हो । कुल इकाईमध्ये १५ प्रतिशत दरको १ करोड २० लाख इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरीएको छ ।
योबाहेक बाँकी ६ करोड ८० लाख इकाई आम सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको हो । यस फण्डको इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म माग गर्न सकिने व्यवस्था छ ।
यो इकाई विक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ४ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । हालसम्म १ करोड २० लाख ४७ हजारभन्दा बढी इकाई खरीद माग भएको जानकारी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको छ ।
इकाई बाँडफाँटसम्बन्धी व्यवस्था अनुसार तोकिएको समयभित्र न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ ।
यस फण्डको इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारीसमेत लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले नै पूरा गर्नेछ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस फण्डको इकाई खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।