काठमाडौं। चीनले आफूसँग दौत्य सम्बन्ध भएका अतिकम विकसित सबै राष्ट्रबाट आयात हुने सबै वस्तुलाई भन्साररहित प्रवेश सुविधा दिने घोषणा गरेको छ । सयुक्त राष्ट्रसंघले नेपाललगायत ४५ ओटा देशलाई अतिकम विकसितको सूचीमा राखेको छ । नेपाल अहिले अतिकम विकसित मुलुकको सूचीमा भए पनि सन् २०२६ पछि विकासशीलमा स्तरोन्नति हुनेछ ।
हालै भएको चीन–अफ्रिका शिखर सम्मेलनमा ३३ अतिकम विकसित अफ्रिकीसहित सबै अतिकम विकसित मुलुकलाई यो सुविधा दिने घोषणा भएको बेइजिङले जानकारी दिएको छ । यस्तो निर्णय गर्ने आफू नै पहिलो ठूलो विकासशील राष्ट्र रहेको चीनको भनाइ छ । यसअघि सन् २०२२ मा नेपालसहित अल्पविकसित १६ देशका ९८ प्रतिशत वस्तुमा चीनले शून्य भन्सारदर घोषणा गरेको थियो । यस नीतिअन्तर्गत नेपालका ८ हजारभन्दा बढी वस्तु चीन निर्यातमा भन्सार लाग्दैन ।नेपालका सरकारी अधिकारी र निर्यातकर्ताले भने गैरभन्सार अवरोध चीन निर्यातको ठूलो चुनौती रहेको बताउँदै आएका छन् ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले चीनमा २ अर्ब ५९ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको देखिन्छ । चीनबाट आयात भने २ खर्ब ९८ अर्ब ७७ करोड रुपैयाँभन्दा माथि छ ।