काठमाडौं । नेपालमा चियाखेतीको थालनी भएको डेढ शताब्दीभन्दा बढी भइसकेको छ । यहाँ उत्पादन हुने चिया विदेश निर्यात पनि हुन्छ । तर, नेपाली चिया उत्पादकहरू निर्यातका लागि भारतीय बजारमा भर पर्नुपर्ने अवस्था छ । चिया बजारमा विविधीकरण ल्याउन र भारतीय बजारको एकाधिकार तोड्न सरकारले चीन निर्यात गर्ने योजना बनाए पनि त्यो अलपत्र परेको छ ।
सरकारी योजनाले सार्थकता पाउन नसक्दा शुरुआती दिनदेखि नै भारतकेन्द्रित नेपाली चियाको बजार हालसम्म पनि पर्याप्त मात्रामा विस्तार हुन सकेको छैन ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार अहिले केही निजी कम्पनीमार्फत चीन, अमेरिका, यूरोपलगायत विश्वका ३८ देशमा नेपाली चिया निर्यात हुँदै आएको छ । तर, भारतीय बजारको एकाधिकार तोड्न त्यो मात्रै पर्याप्त नभएकाले सरकारले जीटूजी (सरकार–सरकार) पहल गर्नु आवश्यक रहेको सरोकारवाला बताउँछन् ।
बोर्डका निर्देशक डा. दीपक खनालले विगतको तुलनामा चिया उत्पादनमा धेरै सुधार भए पनि बजार विस्तारको प्रयासमा भने नेपालले सन्तोषजनक प्रगति गर्न नसकेको बताए । उनका अनुसार अहिले पनि नेपाली चिया उद्योगको सबैभन्दा ठूलो समस्या बजार अभाव र भारतीय बजारको एकाधिकार हो । भारतबाहेक यूरोप र अमेरिकी बजारमा करीब १५ प्रतिशत मात्रै निर्यात हुनुले अझै पनि नेपाली चियाले बजार नपाएको पुष्टि हुने उनको तर्क छ । भारतबाहेकका देशमा भएको निर्यात पनि व्यवसायीको व्यक्तिगत सम्बन्धले गर्दा सम्भव भएको उनको भनाइ छ ।
बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालले ३ अर्ब ४३ करोड ७१ लाख ८६ हजार रुपैयाँ बराबरको १२ हजार ४ सय ९६ मेट्रिक टन चिया निर्यात गरेको छ । त्यसमध्ये ३ अर्ब ५५ लाख ४ हजार रुपैयाँको १२ हजार ९६ मेट्रिक टन चिया भारतीय बजारमा निर्यात भएको छ । पश्चिम बंगालसहित भारतका केही राज्यमा नेपाली सीटीसी र अर्थोडक्स चिया निर्यात हुँदै आएको छ । मूल्यका हिसाबले नेपाली चियाको निर्यात प्रवृत्ति हेर्दा यस वर्ष १४ दशमलव ३६ प्रतिशत मात्रै भारतबाहेकका मुलुकमा निर्यात भएको देखिन्छ । नेपालमा वार्षिक २० हजार २ सय हेक्टर जमीनको खेतीबाट २६ हजार ३ सय मेट्रिक टनभन्दा बढी चिया उत्पादन हुन्छ ।
त्यसमा ६ हजार ५ सय मेट्रिक टन अर्थोडक्स चिया हुन्छ । ‘भारतीय बजारको एकाधिकार तोड्न २ वर्षअघि जीटूजी प्रक्रियाबाट चीन निर्यात गर्ने योजना बनाए पनि त्यो हालसम्म अलपत्र छ,’ खनालले आर्थिक अभियानसँग भने, ‘चीनमा नेपाली चियाको बजार विस्तार गर्ने उद्देश्यले त्यसबेला बोर्डकै नेतृत्वमा हामीले कृषि र परराष्ट्र मन्त्रालयदेखि नेपालस्थित चिनियाँ दूतावाससम्म दौडधुप गर्यौं । तर, जीटूजी प्रक्रियामार्फत निर्यात गर्न सरकारले गर्नुपर्ने कूटनीतिक पहल नगर्दा योजना अलपत्र परेको हो ।’
भारतीय बजारमा प्रतिकिलो ६५० रुपैयाँमा विक्री हुने नेपाली चिया चीन पुर्याउन सके ३७ सय रुपैयाँसम्ममा बेच्न सकिने भएकाले यसका लागि सरकारले कूटनीतिक पहल थाल्नुपर्ने खनाल बताउँछन् । गोर्खा टी स्टेट प्रालिका अध्यक्ष उदय चापागाईं नेपाली चियाको बजारमा भारतीय निर्भरता हटाउन जति सक्दो चाँडो चिनियाँ बजार खुला गर्न सरकार लाग्नुपर्ने बताउँछन् । ‘अहिले पनि हामीले सानोतिनो परिमाणमा चीन निर्यात नगरेको होइन । तर, सरकारी स्तरबाटै सम्झौता भएर काम अघि बढाए ठूलो परिमाणमा नेपाली चिया चीन जान्छ । यसले भारतीय बजारमाथिको निर्भरता तोड्ने काम गर्छ,’ उनले भने । उनका अनुसार नेपालले भारतबाहेकका अन्य मुलुकमा नेपाली चियाको बजार विस्तार गर्न रासायनिक विषादीरहित गुणस्तरीय उत्पादनको शिक्षा किसान स्तरसम्म पुर्याउनु पनि जरुरी छ ।
चीनबाट सय टनको अर्डर
यसैबीच सरकारी समाचार संस्था राससले सम्प्रेषण गरेको समाचारमा इलामको चिया बगान र उद्योग अवलोकन गरेका चिनियाँ व्यवसायीले सय मेट्रिक टनभन्दा बढी चिया अर्डर उल्लेख छ । इलाम नगरपालिका र इलाम उद्योग वाणिज्य संघको पहलमा केही दिनअघि चिनियाँ चिया व्यवसायी त्यहाँ पुगेका थिए । उनीहरूलाई ल्याउन चिया व्यवसायी चिरन दाहालले समन्वय गरेको बताइएको छ । सो अवसरमा चिनियाँ व्यवसायी र स्थानीय चिया व्यवसायी तथा किसानबीच चिया खरीद, चीनमा निर्यातको सम्भावना लगायत विषयमा छलफल भएको दाहालको भनाइ छ ।
चिनियाँ व्यवसायीले चियाबारी र उद्योग अवलोकन गरेका थिए । सो अवसरमा चिनियाँ व्यवसायीले देउमाई र इलाम नगरपालिकाका विभिन्न चिया उद्योग र किसानसँग भेटघाट गरेका थिए । उद्योग वाणिज्य संघ इलामका अध्यक्ष चेतनाथ पौडेलले एक महीनाअघि पाँच जना चिनियाँ व्यवसायी आएर अवलोकन गरेको र अहिले चिया अर्डर गरेको जानकारी दिए । चियाको पहिलो टिपाइ शुरू हुनै लाग्दा चीनबाट आएको टोलीले चिया अर्डर गरेपछि व्यवसायीमा नयाँ उत्साह भरिएको उनको भनाइ छ ।
इलाम नगरपालिकाले पनि सोको लागि पहल गरिरहेको नगरपालिकाका प्रमुख केदार थापाले बताए । चिनियाँ व्यवसायीले नेपाली चियाको गुणस्तर निकै राम्रो भएको प्रतिक्रिया दिएको व्यवसायीको भनाइ छ ।