चैत ७, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकाले चीनबाट आयातित सामग्रीमा लगाएको अतिरिक्त कर कायमै रहने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो बताएका हुन् । ट्रम्पका अनुसार चीनले व्यापार सम्झौताको पालना गर्छ भन्ने सुनिश्चित नभएसम्म कर कायम रहनेछ । उनको पछिल्लो अभिव्यक्तिले व्यापार सम्झौता लगत्तै ३ खर्ब ६० अर्ब डलर बराबरको वस्तुमा लाग्दै आएको अतिरिक्त कर हट्छ भन्ने अपेक्षा गलत साबित भएको छ ।
‘हामीहरुले कर हटाउनेबारे कुरा गरिरहेका छैनौं,’ बुधवार हवाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने । चीनसँगको सम्झौताले काम गर्छ कि गर्दैन भन्ने हेर्नका लागि यथेष्ट समयसम्म कर लगाइराखिने उनको भनाइ छ । उनका अनुसार सम्झौता पूरा गर्न चिनियाँ पक्षलाई निकै समस्या भएकोले पनि यस्तो निर्णय गर्नु परेको हो ।
दुई पक्षबीच चलिरहेको विद्यमान वार्तामा अमेरिकाले राखेको केही मागहरुलाई पेचिङले अटेर गरिरहेको छ । ट्रम्प प्रशासनबाट चिनियाँ वस्तुमा लाग्दै आएको महसुल हट्छ भन्ने आश्वासन नआएपछि बौद्धिक सम्पत्ति नीतिमा परिवर्तन गर्ने सहमति गरेर पनि चिनियाँ अधिकारीहरुले अडान फेरेका छन् । कर यथावत् रहने अभिव्यक्ति दिएपनि सम्झौता हुनेमा भने ट्रम्प आशावादी देखिएका छन् । एजेन्सी
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.