चितवन। चितवनको भरतपुरमा आगामी वैशाख ७ गतेदेखि ‘औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१’ हुने भएको छ । चितवन उद्योग संघ र कम्प्युटर एशोसिएसन नेपाल महासंघ चितवनको संयुक्त आयोजनामा चितवन प्रर्दशनी केन्द्रमा उक्त प्रदर्शनी तथा मेला हुने भएको हो । नवीनतम प्रविधि प्रदर्शन गर्ने र सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउन र भरतपुर भ्रमण वर्षलाई टेवा दिने उद्देश्यसहित प्रदर्शनी गर्न लागिएको बताए । ‘कोरानापछि चितवन लगायत देशभरको आर्थिक गतिविधि सुस्त छ,’ उनले भने, ‘उद्योगी व्यवसायीलाई केही राहत र उत्पादनको बजारीकरण होस् भन्ने हेतुले पनि प्रदर्शनी आयोजना गर्न लागेका हौं ।’
मेलामा उद्योग र प्रविधिका गरी १५० ओटा स्टल रहने अध्यक्ष न्यौपानेले जानकारी दिए । उनका अनुसार स्वदेशी तथा विदेशी उद्योग गरी उद्योगका ७५ ओटा र सूचना प्रविधिका ७५ ओटा स्टल रहनेछन् । प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नवीनतम प्रविधि, कृषिजन्य उत्पादन, उद्योग, पर्यटन स्वास्थ्य लगायत सेवा सम्बन्धी स्टल रहने बताइएको छ । यस्तै सूचना प्रविधि मेलामा कम्प्युटर तथा सूचना प्रविधिका एसेसोरिज, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायकका स्टल रहने कम्प्युटर एशोसिएसन नेपाल महासंघ, चितवनका अध्यक्ष टेकलाल भुसालले जानकारी दिए ।
पाँँच दिनसम्म चल्ने उक्त प्रदर्शनी तथा मेलामा २५ हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । ७० लाख रुपैयाँ अनुमानित खर्च लाग्ने उक्त प्रदर्शनी तथा मेलामा नि:शुल्क प्रवेशको व्यवस्था रहेको बताइएको छ ।
नवीनतम प्रविधि प्रदर्शन गर्ने र सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।