चितवन। चितवनका विभिन्न ठाउँमा विकास निर्माणका काम अलपत्र पार्ने तीन निर्माण कम्पनी कालोसूचीमा परेका छन् । चितवनमा विकास निर्माणका काम अलपत्र पार्ने तीन कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरीद अनुगमन कार्यालयले सूचना प्रकाशित गरेर कालोसूचीमा राखेको हो ।
कालोसूचीमा पर्ने पहिलो कम्पनीमा खोपनिधि लोहनी, शंकरप्रसाद लोहनी र लेखनिधि लोहनीको निर्माण कम्पनी लोहनी एण्ड बदर्श रहेको छ । भरतपुर महानगरपालिकाको वडा नं ७ मा रहेको यो कम्पनी सडक डिभिजन कार्यालय, भरतपुरको सिफारिसमा तीन वर्षका लागि कालोसूचीमा परेको हो ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर शाहका अनुसार यो कम्पनीले राप्ती नगरपालिकाको बुढीखोलामा पुलको काम अलपत्र पारेको थियो । ‘कम्पनीले काम गर्दागर्दै अलपत्र पारेर सम्पर्कविहीन भयो । पटकपटक म्याद थप र ताकेता गर्दा पनि काम नगरेपछि कालोसूचीमा राखिएको हो,’ उनले भने ।
कालोसूचीमा पर्ने पहिलो कम्पनीमा खोपनिधि लोहनी, शंकरप्रसाद लोहनी र लेखनिधि लोहनीको निर्माण कम्पनी लोहनी एण्ड बदर्श रहेको छ ।
यसैगरी रत्ननगर नगरपालिकाको सिफारिसमा रत्ननगर नगरपालिकाको वडा नं ८, ९ र १० मा सडक निर्माण अलपत्र पार्ने दुई कम्पनी हेटौंडाका निर्माण न्यौपानेको कम्पनी शिवालय बिल्डर्स र काठमाडौंका स्वप्निल पौडेलको कम्पनी एसबीएस इञ्जिनियरिङ एशोसिएट्सलाई पनि कालोसूचीमा राखिएको छ । शिवालयलाई एक वर्ष ६ महीना र एसबीएसलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।
रत्ननगर नगरपालिकाका इञ्जिनियर कृष्णप्रसाद उपाध्यायले ती दुई कम्पनीलाई पटकपटक म्याद थपेर अवसर दिए पनि १२ प्रतिशतभन्दा बढी काम नगरेको बताए । उनले भने, ‘दुवै कम्पनीलाई बारम्बार ताकेता गर्दा पनि काम गर्न सकेनन् । सार्वजनिक सुनुवाइमा समेत आएनन् ।’ दुवै कम्पनीले सडक कालोपत्र र सडक सौन्दर्यकरणको ठेक्का पाएका थिए । यीसँगै देशभरका २२ ओटा निर्माण कम्पनी कालोसूचीमा परेको कार्यालयको सूचनामा उल्लेख छ ।