काठमाडौं । डाबर नेपाल एउटै कम्पनीले गत आर्थिक वर्ष (आव) २०८०/८१ मा कुल वस्तु निर्यातमा ७ दशमलव २१ प्रतिशत योगदान गरेको खुलेको छ । कम्पनीको क्रेडिट रेटिङ गर्ने कम्पनी केयर रेटिङका अनुसार उक्त आर्थिक वर्षमा डाबरले १० अर्ब ९८ करोड रुपैयाँ निर्यातबाट कमाएको थियो ।
उक्त वर्ष देशको समग्र निर्यातमा योगदानका हिसाबले डाबर नेपाल एक्लै तेस्रो नम्बरमा परेको देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार उक्त वर्ष समग्र फलाम तथा फलामजन्य उत्पादनहरूको निर्यात पहिलोमा र धागो (यार्न) को निर्यात दोस्रो स्थानमा रहेको छ । फलाम तथा फलामजन्य उत्पादनको निर्यात अंश ११ दशमलव ४ प्रतिशत र यार्नको ७ दशमलव ९ प्रतिशतपछि डाबर नेपाल एक्लैको निर्यात तेस्रो नम्बरमा आएको हो ।
ऊनी गलैंचा निर्यातको अंश समग्र निर्यातको ६ दशमलव ९ प्रतिशत रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ । केयर रेटिङले हालै कम्पनीको रेटिङ गरी सार्वजनिक गरेको विवरणमा डाबर नेपाल एक्लै नेपालको तेस्रो ठूलो निर्यातकर्ता भएको देखिएको हो । कम्पनीले अधिकांश निर्यात आम्दानी जुस निकासीबाट आउने गरेको छ । पर्सनल केयर, हेल्थ केयर र फुडका विभिन्न सेग्मेन्टका प्रडक्ट उत्पादन तथा विक्री र निर्यात गर्दै आएको कम्पनीले ‘डाबर’ र ‘रियल’ ब्रान्डका विभिन्न एफएमसीजी प्रडक्ट उत्पादन गर्दै आएको छ ।
- गत आर्थिक वर्ष डाबर नेपालको जम्मा निर्यात १० अर्ब ९८ करोड
- निर्यात वृद्धि २९ प्रतिशत
- कम्पनीले केयर एनपी ए १ प्लस रेटिङ पायो
- आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल सञ्चालन आम्दानी १६ अर्ब १६ करोड रुपैयाँ
- कुल सञ्चालन आम्दानीमा १८ प्रतिशतको वृद्धि
रियल ब्रान्डमा भने कम्पनीले विभिन्न प्रकारका जुस बजारमा ल्याउने गरेको छ । यसका अधिकांश जुस भारत निर्यात हुने गरेको छ । च्यवनप्रास, गुल्कोज, डब, भाटिका स्याप्पु, टुथपेस्ट, हजमोलाजस्ता प्रडक्ट डाबर नेपालका चर्चित ब्रान्ड हुन् । त्यसैगरी कम्पनीले जडीबुटी संकलन गरेर भारत निर्यात पनि गर्छ । डाबर इन्डिया लिमिटेडको ९७ दशमलव ५० प्रतिशत स्वामित्व रहेको यस कम्पनीले ६ अर्ब ६० करोड रुपैयाँ बैंकबाट कर्जा लिन क्रेडिट रेटिङ गराएको हो । राष्ट्र बैंकको निर्देशनअनुसार ५० करोड रुपैयाँभन्दा बढी कर्जा लिन क्रेडिट रेटिङ अनिवार्य गर्नुपर्छ । कम्पनीले केयर एनपी ए १ प्लस रेटिङ पाएको छ जुन अति उच्चमध्येको रेटिङमा पर्छ । केयर रेटिङले सार्वजनिक गरेको विवरणअनुसार निर्यात वृद्धि हुँदा डाबर नेपाल लिमिटेडको कुल सञ्चालन आम्दानीमा वृद्धि देखिएको छ ।
गत आव २०८०/८१ मा कम्पनीले कुल सञ्चालन आम्दानी १६ अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ जुन अघिल्लो आवको भन्दा १८ प्रतिशतले बढी हो । विगत वर्षको तुलनामा २९ प्रतिशतको वार्षिक निर्यात वृद्धिको कारणले यस्तो आम्दानी बढेको उल्लेख गरिएको छ । निर्यात बढ्दा सञ्चालन आम्दानी त्यसको अघिल्लो आव २०७९/८० को भन्दा १८ प्रतिशतले बढेको हो । डाबर नेपालले घरेलु बजारमा गर्ने विक्रीको वृद्धिदर भने स्थिर जस्तै देखिएको छ । यस्तै गत आवमा उक्त कम्पनीको आन्तरिक बजारको विक्री वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित देखिएको छ । कम्पनीका केही उत्पादनमा मूल्य वृद्धि हुँदा र कच्चा पदार्थको लागत अस्थिर हुँदा घरेलु बजारको विक्री दरमा केही कमी आएको केयर रेटिङले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
उक्त विवरणअनुसार कम्पनीको कुल नगद सञ्चय पनि ३९ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । बैंकबाट धेरै ऋण पनि नलिएको र छोटो अवधिको चालू पूँजी कर्जा मात्र कम्पनीले तिर्नुपर्ने स्थिति हाल रहेको रेटिङ प्रतिवेदनमा उल्लेख छ । सन् १९८९ मा नेपालमा स्थापना भएको डाबर नेपालले उत्पादन भने सन् १९९२ देखि थालेको थियो । एफएमसीजी प्रडक्टका लागि अग्रणी मानिने डाबर नेपालका मुलुकभर ३०० वितरण केन्द्र छन् भने १ लाख संख्यामा रिटेल पोइन्ट पुगेका छन् ।