काठमाडौं । रोजगारीको सूचना दिन सरकारले ‘श्रम संसार’ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १३६औं अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आजबाट उक्त पोर्टल सञ्चालनमा ल्याएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उक्त पोर्टलको शुभारम्भ गर्नुभयो ।
राष्ट्रिय श्रम बजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना उपलब्ध गराउने उद्देश्यका साथ उक्त पोर्टल सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पुर्याउन श्रम संसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आवद्ध गर्न निर्देशन दिनुभयो ।
साथै उहाँले पोर्टल सञ्चालन भएपछि वैदेशिक रोजगारमा देखा परेका चुनौतीहरू नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।
उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरू प्राप्त गर्न र सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको अहम् भूमिका रहने बताउनुभयो ।
सरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्ने गरी काम अघि बढाइसकेको उहाँले बताउनुभयो । आगामी दशकलाई आन्तरिक प्रवर्द्धन दशक बनाउन सरकारले रणनीतिक कार्ययोजना निर्माण गरिरहेकाले मुलुकको समृद्धिको यस यात्रामा सहभागी हुन प्रधानमन्त्री ओलीले आह्वान गर्नुभयो ।
श्रम मन्त्रालयमा आयोजित शुभारम्भ कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अब योग्यता र क्षमता भएका नागरिकले सहजै रोजगारी पाउने अवस्था सृजना भएको बताए ।
मन्त्री भण्डारीले ‘श्रम संसार’ पोर्टलले पहुँच र भनसुनको भरमा रोजगार पाउने भाष्यको अन्त्य गर्ने विश्वास व्यक्त गरे । उनले युवाहरूले आफ्नो योग्यता र क्षमताका आधारमा मुलुकको जुनसुकै ठाउँमा बसेर रोजगारी गर्न सक्ने बताए ।
मन्त्री भण्डारीले स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवासुविधा प्रदान गर्न अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
श्रमसचिव कृष्णहरि पुष्करका अनुसार सबै स्थानीय तह र श्रमिकसँग मोबाइल एप्लिकेसनमार्फत यसको पहुँच पुर्याइनेछ । योसँगै स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवासुविधा प्रदान गर्न मन्त्रालयले अभियान सञ्चालन गर्नेछ ।
सरकारले घोषणा गरेको ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’लाई प्रभावकारी कार्यन्वयन गर्न श्रम संसार पोर्टलले श्रम बजार सूचना प्रणालीमा सहयोगी सिद्ध हुने मन्त्रालयको विश्वास छ । एकीकृत रोजगारी प्रणालीका लागि सिर्जना गर्न पोर्टलको शुभारम्भ गरिएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
उनीहरूका अनुसार श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली हो । जसबाट श्रम तथा रोजगार सम्बद्ध विषयहरूको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाता संस्थाहरुको नियमन, रोजगार सेवाको समतामूलक पहुँच, योग्यता विस्तार मार्फत सङ्घीयताको लाभहरू जनस्तरसम्म पुर्याउन सहयोगी हुनेछ ।
श्रमिक, रोजगारदाता र रोजगार सेवाबीचको दुरी हटाइ फेसलेस, प्रोसेसलेस र म्यानुपुलेसनलेस बनाउँदै नागरिकको शीप क्षमता तथा योग्यताको विकासमार्फत श्रम समाजको सम्पूर्ण वर्ग र समाजलाई यसले नियमन गर्दै राष्ट्रलाई समृद्धितर्फ लैजान सहयोग गर्नेछ ।