विराटनगर । कोशी प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । आज (बिहीवार)देखि शुरू हुने दुईदिने लगानी सम्मेलनको तयारी पूरा भएको कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले जानकारी दिएका हुन् । सम्मेलनको अवधि र त्यसपछि पनि प्रदेशमा लगानी आकर्षित गर्न आठओटा प्रादेशिक कानून अध्यादेशमार्फत संशोधन गरिएको छ ।
पर्यटन, कृषि, उद्योग, पूर्वाधार, स्वास्थ्य लगायत क्षेत्रका ७१ ओटा परियोजना सो सम्मेलनमा प्रस्तुत (शोकेस) गरिने कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक कोइरालाले जानकारी दिए । ती परियोजनाको अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायत देशका लगानीकर्ता तथा गैरआवासीय नेपालीहरूको उपस्थिति रहनेछ । स्वदेशी प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत सहभागिता रहनेछ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीका अनुसार लगानी प्रोत्साहन गर्न आठओटा कानून अध्यादेशमार्फत संशोधन गरिएको हो । संघीय सरकारसँगको सहकार्यमा अन्य कानूनी अवरोध हटाउने प्रयास भइरहेको मन्त्री भण्डारीले जानकारी दिए ।
लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले सार्वजनिक–निजी साझेदारी सम्बन्धी ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, सवारी तथा यातायात व्यवस्था ऐन २०७६, प्रदेश भवन ऐन २०७६, पर्यटन विकास ऐन २०७६, निजी तथा साझेदारी फर्म दर्ता ऐन २०७७, औद्योगिक तथा व्यावसायिक ऐन २०७७ र वन ऐन २०७७ मा अध्यादेशमार्फत संशोधन गरिएको हो । लगानीकर्तालाई विश्वास दिलाउन सरकारले १६ बुँदे नीतिगत प्रतिबद्धता पनि सार्वजनिक गरेको छ ।
सम्मेलनमा कृषि तथा पर्यटनको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास तथा ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसरबारे विषयगत छलफल हुनेछन् । पहिलो दिनको मुख्य सत्रमा तीन तहका सरकारबीचको समन्वय र लगानीमैत्री वातावरणबारे विशेषज्ञ तथा जनप्रतिनिधिहरूले धारणा राख्ने कार्यक्रम छ ।
सम्मेलनलाई नतीजामुखी बनाउने उद्देश्यले प्रि–मिट र सम्मेलनपछि फलोअप मिटिङ सञ्चालन गर्ने रणनीति तय गरिएको कार्यकारी निर्देशक कोइरालाले जानकारी दिए । परियोजनामा देखिएका समस्या समाधान गर्दै अगाडि बढ्ने नीति सरकारले लिएको छ ।
संघीयता कार्यान्वयनपछि प्रदेश सरकारको तहबाट पहिलोपटक आयोजना गर्न लागिएको यो लगानी सम्मेलन ऐतिहासिक र उपलब्धिमूलक हुने प्रदेश सरकारले जनाएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।
सम्मेलनपूर्व ‘प्रि–इन्भेस्टमेन्ट मिट’ सम्पन्न
यसैबीच, सम्मेलनको पूर्वसन्ध्यामा बुधवार ‘प्रि–इन्भेस्टमेन्ट मिट’ आयोजना गरिएको छ । उक्त छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीसहित स्वदेशी तथा विदेशी लगानीकर्ता र उद्योगी–व्यवसायीको उपस्थिति थियो ।
मुख्यमन्त्री कार्कीले लगानीमैत्री वातावरण निर्माणका लागि आठओटा कानून अध्यादेशमार्फत संशोधन भइसकेको जानकारी दिँदै सम्मेलनले प्रदेशको समृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । सम्मेलनपछि ‘फलोअप मिटिङ’ गरिने र प्रतिबद्धता प्राप्त परियोजनाको काम अघि बढाउन सबै खालको सहकार्य गरिने बताए ।