विराटनगर । गत चैतको तेस्रो साता सरकारले नेपालको प्रयोगशालामा परीक्षण भएको चिया तथा कफीलगायत १० खाद्यसमूहअन्तर्गतका वस्तुलाई भारतले विनारोकतोक आफ्नो मुलुकमा प्रवेश दिने सहमति जनाएको बताएको थियो । तर, चियाको हकमा यो व्यवस्था हालसम्म लागू नभएको चिया उद्यमीले गुनासो गरेका छन् ।
फ्याट्स एन्ड आयल, फ्रुट्स एन्ड भेजिटेबल, सिरियल्स् प्रोडक्ट्स (चामल, गहुँ, मकै, कोदो), टी एन्ड कफी, मिल्क एन्ड डेरी प्रडक्ट्स, हनी एन्ड स्वीटनर्स, मिट प्रोडक्ट, स्पाइसेज, प्रोसेस्ड ड्रिकिङ वाटर र डायटरी सप्लिमेन्ट्सलगायत वस्तुको नेपाली प्रयोगशालामा भएको नमूना परीक्षणलाई भारतले मान्यता दिने निर्णय गरेको हो ।
भारतीय दूतावासले चिठी लेखेर खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतको प्रयोगशालामा हुने नमूना परीक्षणलाई मान्यता दिने जानकारी दिएको विभागले बताएको छ । तर, चियाको हकमा गुणस्तर परीक्षणका लागि पश्चिम बंगालको कोलकातामा रहेको प्रयोगशालामा पठाउनु परिरहेको चिया उद्यमीले बताएका हुन् ।
भारतले अहिले चिया र कफी वाहेक नौओटा खाद्यवस्तुको मात्र माग जारी गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । चिया र कफीसमेत उक्त सूचीमा रहे पनि हाल भारतबाट अर्डर नआएकाले परीक्षण हुन नसकेको उनले बताए ।
उनका अनुसार नेपालकै प्रयोगशालाले गुणस्तर प्रमाणीकरण गरेको प्रमाणपत्र, निर्यातसम्बन्धी प्रमाणपत्र र वस्तुको ब्याच (लट) नम्बर प्रमाणपत्रको आधारमा व्यवसायीले नौ खाद्यवस्तु भारत निर्यात गर्न थालिसकेका छन् ।
नेपालको अर्थाेडक्स र सीटीसी चिया मेची नाका हुँदै भारत निकासी हुने गरेको छ । नेपालको अधिकांश चिया भारत निर्यात हुन्छ । कोशी प्रदेशको पहाडी जिल्लामा खेती गरिने अर्थोडक्स चिया ८५ प्रतिशत भारत निर्यात हुने गरेको राष्ट्र बैंकको हालैको एक अध्ययनले देखाएको छ ।
‘भारतले नेपाली प्रयोगशालाको परीक्षणलाई मान्यता दिएको भने पनि अझै पनि हामीलाई यसबारे आधिकारिक जानकारी दिइएको छैन,’ नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले भने । ‘अहिले पनि हामीले कोलकातामै लगेर चियाको गुणस्तर परीक्षण गराइरहेका छौं ।’
कोलकातामा एउटा नमूना पठाएर परीक्षणको प्रमाणपत्र पाउनु एक ट्रक चिया निकासी जत्तिकै झन्झटिलो र खर्चिलो रहेको उनले बताए । त्यसैले नेपालकै प्रयोगशालालाई अन्तरराष्ट्रिय मान्यताप्राप्त बनाउनुपर्ने आवाज आफूहरूले उठाउँदै आएको उनले बताए ।
संघकै उपाध्यक्ष तथा स्टार टी इन्डस्ट्रिजका सञ्चालक शिवकुमार गुप्ताले हालसम्म कुनै पनि सरकारी निकायले नेपालकै प्रयोगशालामा परीक्षण गर्न नभनेको जानकारी दिए । ‘नेपालमै परीक्षण भए समय र पैसाको बचत हुन्थ्यो । यो हाम्रो लामो समयदेखिको माग हो,’ उनले भने ।
उनले भारतीय पक्षले व्यवहारत: नेपाली प्रयोगशालाको परीक्षणलाई मान्यता दिने कुरामा अझै आशंका रहेको बताए । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०८०/८१ मा १ करोड ६५ लाख किलोग्राम चिया निर्यात गरेर नेपालले ३ अर्ब ६३ करोड रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको थियो ।
चालू आव २०८१/८२ को चैत मसान्तसम्ममै नेपालले ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात गरिसकेको छ । यस सिजनको पहिलो टिपाइ भर्खरै शुरू भएकाले चालू वर्ष चिया निर्यात ४ अर्ब ५० करोड रुपैयाँ हाराहारी पुग्ने अनुमान बोर्डको छ ।