चीनले डार्क फ्याक्ट्रीहरूलाई तीव्र रूपमा अपनाउँदै छ । मेड इन चाइना २०२५ रणनीतिअन्तर्गत चीनले रोबोटिक्स, एआई स्मार्ट फ्याक्ट्रीहरूमा ठूलो लगानी गरिरहेको छ । २०२२ मा विश्वभर स्थापना भएका २९०,३६७ औद्योगिक रोबोटहरूमध्ये ५२ प्रतिशत चिनियाँ थिए । फक्सकनले २०१६ मा कुनशान फ्याक्ट्रीमा ६०,००० श्रमिकहरूलाई रोबोटले प्रतिस्थापन गर्यो । अँध्यारो प्रणालीले उद्योगको ऊर्जा खपत १५–२० प्रतिशतले घटाउने अनुमान गरिएको छ ।
तर, चीनमा स्वचालनले रोजगारी संकट निम्त्याउन सक्छ । अक्सफोर्ड इकोनोमिक्सले २०१७ मा २०३० सम्म १.२ करोड चिनियाँ रोजगारीहरू रोबोटले विस्थापित गर्ने प्रक्षेपण गरेको थियो । डार्क फ्याक्ट्रीहरू उत्पादनको नयाँ अध्याय हुन् तर समाजलाई यस परिवर्तनसँग सामञ्जस्य गराउन आवश्यक छ ।
स्वचालन (अटोमेशन) र कृत्रिम बुद्धिमत्ता (एआई) को विकासले विश्वभरका उद्योगहरू रूपान्तरित भइरहेका छन् र उत्पादनमूलक क्षेत्र यसको अपवाद होइन । पछिल्ला वर्षहरूमा भएको सबैभन्दा महत्त्वपूर्ण परिवर्तनमध्ये एक डार्क फ्याक्ट्री अर्थात् पूर्णरूपमा स्वचालित उत्पादन केन्द्रहरूको अवधारणा हो, जसले मानव हस्तक्षेपको आवश्यकता हटाउँदै छ । तर, के यी फ्याक्ट्रीहरू औद्योगिक उत्पादनको भविष्य हुन् वा तिनीहरूले ल्याउने चुनौतीहरू फाइदाभन्दा गम्भीर छन् ?
डार्क फ्याक्ट्री भनेको के हो ?
डार्क फ्याक्ट्री भनेको पूर्णरूपमा स्वचालित उत्पादन केन्द्र हो, जहाँ रोबोट, एआई प्रणालीहरू र इन्टरनेट अफ थिङ्स उपकरणहरूले सबै उत्पादन प्रक्रियाहरू सम्हाल्छन् । यी फ्याक्ट्रीहरू २४सै घण्टा सञ्चालन गर्न डिजाइन गरिएका हुन्छन्, जसमा मानव श्रमको आवश्यकता पर्दैन । यी कारखानामा कामदार हुँदैनन्, तिनलाई उज्यालोको आवश्यकता पनि हुँदैन ।
कम्पनीहरू डार्क फ्याक्ट्रीहरूमा किन लगानी गरिरहेका छन् ?
धेरै कारणले गर्दा आधुनिक निर्माण उद्योगमा डार्क फ्याक्ट्रीहरू लोकप्रिय बन्दै गएका छन् ।बढ्दो दक्षता एउटा कारण हो । स्वचालित प्रणालीहरूले मानव श्रमभन्दा छिटो र सही तरीकाले काम गर्छन्, जसले उत्पादनमा हुने त्रुटिहरू घटाउँछ र उत्पादनको मात्रा बढाउँछ । अर्को फाइदा भनेको लागत घटाउनु हो । मानव श्रम हटाउँदा ज्याला, लाभ र कार्यस्थल सुरक्षासँग सम्बन्धित खर्चहरू घट्छन् । निरन्तर सञ्चालन हुनु अर्को फाइदा हो । मानिशहरूलाई आराम, बिदा, वा निद्राको आवश्यकता पर्छ तर मेशिनहरू विना अवरोध लगातार चल्न सक्छन् । त्यस्तै खतरनाक वातावरणमा पर्ने काम रोबोटहरूले गर्न सक्ने भएकाले कार्यस्थलमा दुर्घटनाहरू घट्छन् ।
एआईमा आधारित उत्पादन प्रणालीहरूले बजारको मागअनुसार छिट्टै समायोजन गर्न सक्ने क्षमता राख्छन् जसका लागि धेरै श्रमिकहरूलाई तालिम दिइरहन आवश्यक पर्दैन ।
डार्क फयाक्ट्रीहरू कार्यान्वयन गर्ने कम्पनीहरूअहिले डार्क फ्याक्ट्री खोल्नेमा चीनको बढी चर्चा भए पनि धेरै अग्रणी कम्पनीहरूले पहिले नै स्वचालित उत्पादनमा ठूलो फड्को मारिसकेका छन् । यहाँ केही उदाहरण छन् ।
फ्यानुक (जापान) : फ्यानुक विश्वको सबैभन्दा प्रसिद्ध डार्क फ्याक्ट्री सञ्चालन गर्ने कम्पनीमध्ये एक हो । जापानमा रहेको यस कम्पनीको फ्याक्ट्रीमा पूर्णरूपमा स्वचालित उत्पादन लाइनहरू छन्, जहाँ रोबोटहरूले रोबोटहरू उत्पादन गर्छन् ।
सिमेन्स (जर्मनी) : सिमेन्सले आफ्ना इलेक्ट्रोनिक्स उत्पादन एकाइमा डार्क फ्याक्ट्रीहरू जोडेको छ । जर्मनीको एम्बर्ग प्लान्टले ९९ दशमलव ९९ प्रतिशत गुणस्तर प्रदान गर्छ जसले एआईमा आधारित उत्पादनको प्रभावकारिता प्रमाणित गर्छ ।
टेस्ला (अमेरिका) : एलन मस्कको टेस्लाले आफ्नो गिगा फ्याक्ट्रीहरूमा स्वचालनको प्रयोग गरिरहेको छ । हाललाई, टेस्लाका फ्याक्ट्रीहरूमा मानव सुपरभिजन आवश्यक छ, तर भविष्यमा पूर्ण स्वचालनतर्फ जान खोजिरहेको छ ।
लाइट्स–आउट सीएनसी मेशिनङ (चीन) : चीनले डार्क फ्याक्ट्रीहरूलाई द्रुत गतिमा अपनाएको छ, विशेष गरी सीएनसी (कम्प्युटर न्युमेरिकल कन्ट्रोल) मेशिनिङ क्षेत्रमा । उच्च–सटीकयुक्त इन्जिनीयरिङ तथा ठूलो परिमाणको उत्पादनका लागि केही चिनियाँ निर्माण कम्पनीहरूले पूर्णरूपमा स्वचालित फ्याक्ट्रीहरू स्थापना गरिरहेका छन् ।
एडिडास (जर्मनी र अमेरिका) : एडिडासले जर्मनी र अमेरिकामा स्पीड फ्याक्ट्री नामक स्वचालित फ्याक्ट्रीहरू सञ्चालन गरेको थियो जसमा न्यूनतम मानव संलग्नताका साथ रोबोट र एआईद्वारा जुत्ता निर्माण गरिन्थ्यो । तर, विभिन्न चुनौतीका कारण एडिडासले यी फ्याक्ट्रीहरू बन्द गरेको छ ।
डार्क फ्याक्ट्रीका चुनौतीहरू
डार्क फ्याक्ट्रीहरूसँग धेरै फाइदा भए पनि तिनमा केही चुनौती पनि छन् : उच्च प्रारम्भिक लागत पहिलो चुनौती हो । पूर्णरूपमा स्वचालित फ्याक्ट्री स्थापना गर्न ठूलो लगानी आवश्यक पर्छ । रोजगार गुम्ने खतरा अर्को चुनौती हो । मानव श्रमिक हटाइने भएकाले बेरोजगारी बढ्न सक्छ । प्राविधिक समस्या पनि एउटा चुनौती हो । यदि स्वचालन प्रणालीहरूमा कुनै त्रुटि आयो भने सिंगो उत्पादन प्रक्रिया नै रोकिन सक्छ । त्यस्तै अर्कौ चुनौती लचिलोपनको अभाव हो । मानव श्रमिकहरू परिवर्तनशील मागअनुसार छिटो अनुकूल हुन सक्छन् तर मेशिनहरूलाई नयाँ कार्यका लागि पुन:प्रोग्राम गर्न समय लाग्छ । साइबर सुरक्षाको जोखिम अर्को चुनौती हो । एआई र आईओटीमा आधारित यी प्रणाली साइबर आक्रमणको जोखिममा रहन्छन् ।
के डार्क फ्याक्ट्रीहरू नै उद्योगको नयाँ रूप बन्नेछ ?
औद्योगिक उत्पादनको भविष्य पूर्णरूपमा डार्क फ्याक्ट्रीमा रूपान्तरण नहुन सक्छ बरु मानव र स्वचालनको संयोजनमा आधारित हाइब्रिड मोडेलको विकास हुनेछ । एआइमा आधारित फ्याक्ट्रीहरू इलेक्ट्रोनिक्स, अटोमोबाइल, र उच्च–सटीक इन्जिनीयरिङजस्ता क्षेत्रमा प्रचलित हुने सम्भावना छ । अनुकूलन तथा कलात्मक दक्षता आवश्यक पर्ने उद्योगहरू भने मानव श्रमिकमा निर्भर रहनेछन् ।
सरकार तथा व्यवसायहरूले श्रमिकहरूको पुन: प्रशिक्षण, रोजगारी सृजना र एआईसम्बन्धी नीतिहरू तय गर्नुपर्छ, ताकि स्वचालन समाजका लागि लाभदायी बनोस् । डार्क फ्याक्ट्रीहरूले उत्पादन क्षेत्रलाई महत्त्वपूर्ण रूपान्तरण ल्याइरहेका छन् जसले दक्षता, लागत नियन्त्रण र विस्तार गर्ने क्षमता बढाएको छ । तर, रोजगारी, लचिलोपन र सुरक्षाका विषयमा गहिरो छलफल आवश्यक छ ।
एजेन्सीको सहयोगमा