काठमाडौं । १४ कारोबार दिनमा एक दिनबाहेक घटेको नेप्से आज (सोमवार) भने बढेको छ । आज नेप्से २६ दशमलव १० अंक बढेर २ हजार ६४० दशमलव ७८ विन्दुमा पुगेको छ ।
गत फागुन १९ यता बजार लगातारजसो घटेको थियो । त्यसयता सात कारोबार दिनपछि फागुन २८ गते मात्रै बजार बढेको थियो । त्यसपछि पुनः ओरालो लागेको बजार ६ कारोबार दिनपछि आज मात्रै बढेको हो ।
नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन रू. ६ अर्ब ३२ करोड बराबरको कारोबार भएकोमा आज रू. ४ अर्ब ४८ करोड बराबरको कारोबार भएको हो ।
आज नेप्सेको मैनबत्ती चित्र आकृति हेर्दा मुडुलो देखिएको छ । मैनबत्ती चित्रको आकृति मुडुलो बन्नु र कारोबार पनि घट्नुले आगामी दिनमा बजार बढ्छ कि घट्छ भन्नेमा आँकलन गर्न नसकिएको जानकार बताउँछन् । बजार कता जान्छ भन्नेमा भोलिको अवस्थाले मात्रै निर्धारण गर्न सकिने उनीहरूको भनाइ छ । भोलि बजार बढेमा नेप्से अझै माथि जान सक्ने जानकारहरूको आँकलन छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९३ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव ०१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८७ प्रतिशत वृद्धि भएको छ ।
यसअघि बजार घट्दा कम्पनीहरूको शेयर मूल्य तल्लो विन्दुमा आएको थियो । शेयर मूल्य तल्लो विन्दुमा आएसँगै खरीदकर्ता आकर्षित भएका छन् ।
आज ३२६ धितोपत्रको ९७ लाख ३९ हजार ७३८ कित्ता शेयर ५८ हजार २३५ पटकमा रू. ४ अर्ब ४८ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९ दशमलव ५१ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार २६५ दशमलव ६३ पुगेको छ ।
शेयर मूल्य सर्वाधिक बढ्ने (प्रतिशतका आधारमा) कम्पनीको सूचीमा दोस्रोमा उपकार लघुवित्त छ । कम्पनीको शेयर मूल्य ८ दशमलव ०७ प्रतिशत बढेर रू. ३ हजार ६९२ दशमलव ६० पुगेको छ ।
सोमवार अपर हेवा खोला हाइड्रोपावर कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका छन् । आज यस कम्पनीको शेयर मूल्य सर्वाधिक ४ दशमलव २६ प्रतिशत घटेर प्रतिकित्ता रू. ८०५ दशमलव ५५ मा झरेको छ ।
शेयर मूल्य सर्वाधिक घट्ने (प्रतिशतका आधारमा) सूचीमा दोस्रोमा सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ नामक ऋणपत्र छ । उक्त ऋणपत्रको मूल्य ३ दशलमव ७४ प्रतिशत घटेर रू. १ हजार ४० दशमलव ८० कायम भएको छ ।
आज शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले अोगटेको छ । यस कम्पनीको रू. ३२ करोड ६९ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९६६ दशमलव ६० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा सिईडिबि होल्डिङ्सको रू. १५ करोड २९ लाख बराबरको भएको छ ।
आज कारोबारमा आएका १३ ओटै समूहगत सूचक बढेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ५२ प्रतिशत वृद्धि भएको छ ।