काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । फण्डले माघ मसान्तमा सूचीकृत शेयरमा रू. ३६ करोड २० लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ४७ करोड २० लाख पुर्याएको हो ।
त्यस्तै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ४९ पैसा रहेकोमा फागुन महीनामा बढेर १० रुपैयाँ ५४ पैसा पुगेको हो ।
फण्डले फागुन मसान्तसम्ममा रू. ३ करोड ९७ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तको तुलनामा १९ प्रतिशत वृद्धि भएको हो । माघ मसान्तमा फण्डले रू. ३ करोड ३३ लाख नाफा कमाएको थियो ।
फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । माघ मसान्तमा फण्डको कुल आम्दानी रू. ४ करोड ५९ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ५ करोड ४६ लाख पुगेको छ ।