काठमाडौं । पछिल्ला दुई कारोबार दिन नेप्से परिसूचक निरन्तर स्थिर बनेको छ । मंगलवारको तुलनामा बुधवार नेप्से परिसूचक शून्य दशमलव ३३ अंक घटेर २ हजार ६०० दशमलव २० विन्दुमा बन्द भएको हो ।
यस दिन २ हजार ६०७ दशमलव ७१ विन्दुमा पुगेको नेप्से २ हजार ५९४ दशमलव ३४ विन्दुसम्म झरेको थियो । अन्तिममा बजार २ हजार ६०० विन्दुमै पुगेर बन्द भएको हो ।
पछिल्ला तीन कारोबार दिन बजार लगातार २ हजार ६०० विन्दुमा गएर बन्द भएकाले यसभन्दा तल बजार नझर्ने अनुमान जानकारहरूले गरेका छन् । बुधवारको कारोबारमा बनेको मैनबत्ती विश्लेषण भने डोजी आकृतिको छ । यस आकृतिले बजार अन्योल रहेको संकेत गर्दछ ।
बुधवार ११२ कम्पनीको धितोपत्र मूल्य बढ्दा १३४ कम्पनीको धितोपत्र मूल्य भने घटेको छ । यो दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य भने प्रतिकित्ता १ हजार ८९० रुपैयाँमा स्थिर रहेको छ ।
यस दिन मोदी इनर्जीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत र तेह्रथुम पावरको शेयर मूल्य ९ दशमलव ७७ प्रतिशत बढेको छ । मोदी इनर्जीको शेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ १२ पैसाले बढेर अन्तिम मूल्य ३३१ रुपैयाँ ५० पैसा कायम भएको हो ।
त्यस्तै तेह्रथुम पावरको शेयर मूल्य प्रतिकित्ता ३६ रुपैयाँ १ पैसाले बढेर अन्तिम मूल्य ४०४ रुपैयाँ ४४ पैसा कायम भएको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९ दशमलव ५१ प्रतिशत र हिमालयन पावर पार्टनरको ९ दशमलव शून्य २ प्रतिशत घटेको छ ।
हिमालयन पावर पार्टनरको शेयर मूल्य प्रतिकित्ता ३८ रुपैयाँ १५ पैसाले घटेर अन्तिम मूल्य प्रतिकित्ता ३६२ रुपैयाँ ९२ पैसा कायम भएको छ । त्यस्तै हिमालयन पावर पार्टनरको शेयर मूल्य प्रतिकित्ता ५४ रुपैयाँ ५५ पैसाले घटेर अन्तिम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ ३ पैसा कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम भने सामान्य बढेको छ । मंगलवार ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँभन्दा बढीको १ करोड ३७ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा बुधवार ५ अर्ब ९४ करोड २८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबारमा सर्वाधिक हिस्सा भने बुटवल पावर कम्पनीले ओगटेको छ । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयर मूल्य ४ दशमलव ३१ प्रतिशत बढेर अन्तिम मूल्य ८४४ रुपैयाँ १४ पैसा कायम भएको छ । प्रतिकित्ता ३४ रुपैयाँ ८९ पैसाले यस कम्पनीको शेयर मूल्य बढेको हो ।
बुधवारको कारोबारमा होटल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो दिन होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव ४३ प्रतिशत बढेको छ । यस दिन व्यापारिक समूहको परिसूचक भने सर्वाधिक १ दशमलव शून्य ७ प्रतिशत घटेको छ ।
अघिल्लो कारोबार दिन ४३ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण बुधवार ५६ करोड रुपैयाँभन्दा बढीले घटेर ४३ खर्ब ३२ अर्ब ३० करोड रुपैयाँभन्दा बढी कायम भएको हो ।