काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर र ट्रंक लाइनबाट उद्योगहरूलाई वितरण गरेको बिजुलीको महशुल लिन पाउने भएको छ ।
पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा बनेको आयोगको सिफारिश कार्यान्वयन गर्ने निर्णय गतहप्ता मन्त्रिपरिषद्ले गरेपछि प्राधिकरणले दाबी गरेअनुसारको पूरै महशुल उठाउन नपाउने भएको हो ।
आयोगले वैशाख २३ गते ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको थियो । सरकारले २०७२ साउनदेखि पुस, २०७२ माघदेखि २०७५ वैशाख र २०७५ जेठदेखि २०७७ असारसम्म डेडिकेटेड फिडर र ट्रंक लाइनबाट भएको विद्युत् आपूर्तिको महशुलसम्बन्धी विवाद अध्ययन गरी प्रतिवेदन बुझाउनुपर्ने म्यान्डेटका साथ गतवर्ष पुस २४ मा आयोग गठन गरेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले मन्त्रिपरिषद्ले डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत् महशुल विवाद सम्बन्धमा ‘विद्युत् महशुल विवाद समाधान आयोग, २०८०’ को प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले मन्त्रालयलाई पत्र पठाएको बताए ।
उनका अनुसार प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत भएर गत शुक्रवार कार्यान्वयनका लागि मन्त्रालयलाई पत्र प्राप्त भएको हो । ‘प्रतिवेदनमा उल्लेख भएअनुसार उद्योगीले २०७२ माघदेखि २०७५ वैशाखसम्मको मात्रै महशुल प्राधिकरणलाई बुझाउनु पर्नेछ । आयोगले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्बाट जस्ताको त्यस्तै स्वीकृत भएर आएको छ । अब प्रतिवेदन कार्यान्वयनमा जानेछ,’ ऊर्जासचिव तिवारीले आर्थिक अभियानसँग भने । उनका अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता महशुल ६ अर्ब ४१ लाख रुपैयाँ छ । यसमा ब्याज र २५ प्रतिशत जरीवाना थपिन्छ ।
तिवारीका अनुसार २०७२ साउनदेखि पुससम्म र २०७५ जेठदेखि २०७७ जेठसम्म दुई अवधिको महशुल उठाउन उपयुक्त नहुने सुझाव आयोगको प्रतिवेदनमा छ ।
छूट दिन सिफारिश गरिएको २०७२ साउनदेखि २०७२ पुससम्मको ९७ करोड ४३ लाख रुपैयाँ र २०७५ जेठदेखि २०७७ जेठसम्मको ८ अर्ब ४४ करोड ९६ लाख रुपैयाँ साँवा बक्यौता छ । आयोगको सिफारिश कार्यान्वयनमा आए प्राधिकरणले त्यो महशुल उठाउन पाउने छैन ।
तिवारीका अनुसार आयोगले २०७२ साउनदेखि पुससम्म उद्योगलाई डेडिकेटेड फिडर र टं्रक लाइनमार्फत विद्युत् आपूर्ति गरे पनि तत्कालीन महशुल निर्धारण आयोगबाट महशुल निर्धारण नभएको अवधि भनेर व्याख्या गरेको छ । यस अवधिको महशुल लिन उपयुक्त नहुने प्रतिवेदनमा उल्लेख छ ।
महशुल निर्धारण नभएको अवधि २०७२ साउनदेखि पुससम्म र लोडशेडिङ अन्त्य भएपछिको अवधि २०७५ जेठदेखि २०७७ असारसम्मको महशुल लिन नहुने सुझाव आयोगको छ । मन्त्रालयका अनुसार महशुल दर निर्धारण भएको अवधि २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता भने बिलअनुसार उठाउन सिफारिश गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
यस विषयमा उद्योगीहरू र विद्युत् प्राधिकरणबीच लामो समयदेखि विवाद छ । उद्योगीले माग नै नगरेको बिजुलीको महशुल भुक्तानी नगर्ने अडान लिएपछि प्राधिकरणले केही उद्योगको लाइन समेत काटेको थियो ।