काठमाडौं। पाँच तारा डिलक्स र पाँच तारास्तरको इजाजत लिएर सञ्चालनमा आएका होटेलको संख्या १७ पुगेको छ । एउटा डिलक्स पाँचतारा स्तरको र अन्य १६ ओटा पाँचतारास्तरको गरी पर्यटन विभागबाट उक्त संख्याका होटेलले इजाजत लिएका हुन् ।
होटेलले आफ्नो पूर्वाधार, सेवा तथा सुविधाका आधारमा पर्यटन विभागबाट तारास्तरको वर्गीकरण पाउँछन् । यसका लागि होटेलले विभागमा निवेदन दिनुपर्छ । मुलुकमा सञ्चालनमा आएकामध्ये केही होटेलले यस्तो रेटिङका लागि विभागसमक्ष निवेदन दिने तयारी पनि गरेका छन् । केही होटेल निर्माणाधीन अवस्थामा छन् । निकट भविष्यमै पाँचतारा स्तरको रेटिङ लिने होटेलको संख्या बढ्ने विभागको अनुमान छ ।
भारतको हस्पिटालिटी चेन ब्रान्ड ‘लेमन ट्री प्रिमियर’को व्यवस्थापन भित्त्याएको बूढानीलकण्ठ हेरिटेज लिमिटेडले पनि पाँचतारा स्तरको रेटिङ लिन निवेदन दिने तयारी गरिसकेको छ । विभागले हालै सार्वजनिक गरेको पाँच तारा डिलक्स तथा पाँच तारा होटेलको विवरणअनुसार ती होटेलले इजाजत नवीकरण गरेका छन् ।
विभागका अनुसार पाँचतारे डिलक्स तथा सोही स्तरका होटेलमा कुल कोठा संख्या २ हजार ३४६ छ । विभागले गरेको रेटिङअनुसार पाँचतारे डिलक्स होटेल एउटा मात्रै छ । झापाको धुलाबारीमा सञ्चालनमा आएको होटेल मेची क्राउनले उक्त स्तरको रेटिङ लिएको हो ।
पाँचतारे स्तरमा नवीकरण गराउनेमा काठमाडौंका सोल्टी होटेल, होटेल अन्नपूर्ण, तारागाउँ रिजेन्सी होटेल लिमिटेड (हायात), द मल्ल होटेल प्रालि, होटेल सांग्रिला, होटल एभरेस्ट, होटेल अलफ्ट, हायात प्लेस, होटेल ल्हासा इन्टरनेशनल, अकामा होटेल रहेका छन् । यस्तै उपत्यका बाहिर रूपन्देहीस्थित टाइगरवान प्रालि, बाँकेको नेपालगञ्जस्थित सोल्टी शिवक्रिम होटेल्सको सोल्टी वेस्टेन्ड प्रिमियम, बाँकेस्थित होटेल सेन्ट्रल प्लाजा, झापाको होटेल द किंग्सबरी, बाराको सिमरास्थित इच्छा होटेल पाँच तारास्तरको रेटिङमा वर्गीकरण भएका छन् ।
- पाँचतारे स्तरको मापदण्ड पूरा गरेका होटेलले इजाजत लिनै बाँकी
- नयाँ पाँचतारे होटेल संघीय राजधानी काठमाडौं केन्द्रित
विभागको पछिल्लो तथ्यांकअनुसार अझै पनि पाँच तारास्तरका होटेल संघीय राजधानीबाहिर निकै कम सञ्चालनमा आएको देखिएको छ । अधिकांश पाँच तारास्तरका होटेल काठमाडौंमा छन् । त्यसमा पनि पछिल्लो समयमा बनेका होटेलको संख्या पनि काठमाडौंमै बढी छ । पछिल्लो समय थपिएका र विभागबाट पाँच तारास्तरको रेटिङको इजाजत लिएका होटेलमा ताहाचलको हायात प्लेस, अकामा, अलफ्ट र होटेल ल्हासा इन्टरनेशनल छन् ।
यस्तै होटेल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनायक शाहले सरकारले तोकेको मापदण्ड पूरा गरेका होटेलहरूले इजाजतका लागि विभागमा निवेदन दिने हो भने यो संख्या बढ्ने बताए । ‘दर्ता गर्ने हो भने यो संख्या धेरै पुग्छ,’ शाहले भने, ‘काठमाडौंमै ६/७ ओटा र बाहिर पनि उत्ति नै संख्यामा होटेल बनेका छन् ।’ यद्यपि उपत्यका त्यो पनि काठमाडौंभन्दा बाहिर नजानेमा व्यवसायीको आफ्नै व्यावसायिक योजना हुने र अन्य कनेक्टिभिटी जस्ता पूर्वाधारका कारण पनि जान नसक्ने अवस्था रहेको शाहको भनाइ छ ।