काठमाडौं । भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध खुकुलो बनाएपछि चालू आर्थिक वर्ष २०८१/८२ मा देशभित्र धान चामलको आयात ह्वात्तै बढेको छ । अघिल्ला २ वर्ष घट्दो क्रममा रहेको धान/चामलको आयात चालू आर्थिक वर्ष (आव) को चैत मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बरको नजिकै पुगेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आवको चैतसम्ममा नेपालले ३२ अर्ब १ करोड रुपैयाँ बराबरको धान/चामल आयात गरेको छ । गत आवको सोही अवधिमा १७ अर्ब ५१ करोड रुपैयाँको मात्रै आयात भएको थियो ।
यसअघिका २ आवमा धान/चामल आयातको अवस्था निरन्तर घट्दो क्रममा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । आव २०७८/७९ मा नेपालमा ४७ अर्ब ३५ करोड रुपैयाँको धान/चामल आयात भएकोमा आव २०७९/८० मा ३६ अर्ब ४० करोडमा खुम्चिएको थियो । आव २०८०/८१ हुँदा आयात वार्षिक २२ अर्ब रुपैयाँमा ओर्लेको थियो ।
भारतले २०८० साउन ४ देखि बास्मतीबाहेकका चामलको निर्यातमा लगाएको प्रतिबन्ध हटाएका कारण पछिल्लो समय आयात वृद्धि भएको नेपाल चामल तेल दाल उद्योग संघका निवर्तमान अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । २०७९ भदौमा भारतले बास्मती चामलको निर्यातमा समेत प्रतिबन्ध लगाएको थियो ।
भारत सरकारले २०७८ भदौमा आधा उसिनेको चामलमा निर्यात कर २० प्रतिशत लगाएको थियो । तर, २०७९ साउनमा उक्त कर हटायो । रूस–युक्रेन युद्धका कारण अन्तरराष्ट्रिय बजारमा खाद्यान्नको भाउ बढेपछि भारत सरकारले चामल निर्यातमा कडाइ गरेको थियो ।
गतवर्ष कात्तिकमा भारत सरकारले आधा उसिनेको चामलमा लगाउँदै आएको निर्यात कर पनि हटाएको थियो । त्यसअघि विदेश निर्यात बढाउन भारत सरकारले आधा उसिनेको चामलको निर्यात कर २० बाट घटाएर १० प्रतिशत कायम गरेको थियो ।
साथै केही महीना अघिदेखि भारत सरकारले बास्मती र गैरबासमती चामलमा लाग्दै आएको न्यूनतम निर्यात मूल्य पनि हटाएको थियो । गत फागुनमा भारतले चामलको कनिका निर्यातमा लगाएको प्रतिबन्ध हटायो ।
घरेलु बजारमा मूल्य आकाशिएपछि पर्याप्त आपूर्ति सुनिश्चित गर्न भारतले सन् २०७८ यता चामल निर्यातमा अनेकौं खालको प्रतिबन्ध लगाउँदै आएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पछिल्लो केही समययता धान/चामलको आयात ह्वात्तै बढेको बताउँदै अब आयात प्रतिस्थापन गर्न र देशभित्रै उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । सोमवार काठमाडौंमा भएको नेपाल चामल तेल दाल उद्योग संघको कार्यक्रममा बोल्दै उनले व्यवसायीले पनि भारतबाट धान/चामल आयात गरेर उद्योगधन्दा चलाउनुभन्दा नेपालमै उत्पादन बढाउनेतर्फ पनि काम गर्नुपर्ने बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा यस वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ । यो उत्पादन गतवर्षको तुलनामा २ लाख ३१ हजार २४२ मेट्रिक टनले धेरै हो । गतवर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन
भएको थियो ।