काठमाडौं । धितोपत्रको दोस्रो बजारमा हुने उतारचढावमा स्थिरता ल्याई अनावश्यक उतारचढावको असरबाट साधारण लगानीकर्तालाई बचाउन संस्थागत लगानीकर्ताको उपस्थिति अनिवार्य मानिन्छ ।
एक दशक अघिसम्म सीमित संस्थागत लगानीकर्ता रहेको धितोपत्र बजारमा अहिले ८ हजार ७५४ संस्थागत लगानीकर्ता सूचीकृत रहेको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । ‘धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न १ महीनामा ३०० संस्थागत लगानीकर्ता थपिएका छन्,’उनले भने ।
तर, सबै योग्य संस्थागत लगानीकर्ता होइनन् । नेपाल धितोपत्र बोर्डले हालसम्म १५० कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको अनुमतिपत्र दिएको छ । योग्य संस्थागत लगानीकर्ता हुन धितोपत्र व्यापारी हुनुपर्ने र धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित हुनुपर्ने धितोपत्र बोर्डको मार्गदर्शनमा उल्लेख छ ।
२०७७ माघ १९ गतेसम्म ४६ योग्य संस्थागत लगानीकर्ता थिए । २०७७ माघ २० गते थप १८ ओटा कम्पनीले योग्य संस्थागत लगानीकर्ताको अनुमतिपत्र पाए । त्यसपछि विभिन्न समयमा गरेर १५० कम्पनीले संस्थागत लगानीकर्ताको अनुमतिपत्र पाएको बोर्डले बताएको छ । विभिन्न मर्चेन्ट बैंकर र तिनीहरू व्यवस्थापक रहेका म्युचुअल फन्ड, लगानी कम्पनी र बीमा कम्पनीहरू शेयरबजारमा योग्य संस्थागत लगानीकर्ताको रूपमा रहेका छन् ।
त्यस्तै स्टक डिलर पनि संस्थागत लगानीकर्ता नै हुन् । हाल दुईओटा स्टक डिलरले कारोबारको अनुमति प्राप्त गरेका छन् । तिनीहरू नागरिक स्टक डिलर र नबिल स्टक डिलर हुन् । नबिल स्टक डिलरले कारोबार शुरू गरिसकेको छैन । योग्य संस्थागत लगानीकर्ताले बुक बिल्डिङमार्फत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्नुअघि शेयरको बजार भाउ कति हुने भनी निर्धारण गर्न सघाउ पुर्याउँछन् ।
बुक बिल्डिङमार्फत शेयर निष्कासन गर्ने कम्पनीले संस्थागत लगानीकर्तालाई आफूले जारी गर्ने कुल साधारण शेयरको ४० प्रतिशत कित्ता छुट्ट्याउनुपर्ने प्रावधान छ । उनीहरूले निश्चित मूल्यमा किनेपछि त्यसमा १० प्रतिशत घटाएर सर्वसाधारणका लागि मूल्य कायम गर्नुपर्ने कानूनी व्यवस्था छ । योग्य संस्थागत लगानीकर्ता नरहेका संस्थागत लगानीकर्ताले भने ठूलो मात्रामा शेयर किनबेच गरी बजारमा स्थिरता ल्याउने काम गर्छन् भन्ने विश्वास गरिन्छ ।
बजारमा कम शेयर आपूर्तिका कारण मूल्य अत्यधिक बढेमा आपूर्ति बढाएर मूल्य स्थिरता कायम गर्न तथा धेरै आपूर्तिका कारण मूल्य अत्यधिक घट्न गए किनेर आपूर्तिमा सन्तुलन ल्याई मूल्य घट्न नदिन संस्थागत लगानीकर्ता आवश्यक मानिन्छ ।
सानिमा क्यापिटल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त योग्य संस्थागत लगानीकर्ता हो । यसका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे बजारको राम्रो विश्लेषण गरेर मात्र आफ्नो कम्पनीले लगानी गर्ने गरेको बताउँछन् ।
‘हामी माग र आपूर्ति, प्राविधिकसहित वित्तीय अवस्था विश्लेषण गरेर मात्रै हरेक कम्पनीको शेयर खरीद गर्ने गर्छौं,’ उनले भने, ‘हामीले भोलि बजार घट्दा पनि कसरी रिटर्न आउँछ भन्ने कुरा विश्लेषण गरेर लगानी गरेका हुन्छौं ।’
पछिल्लो सयम लगानीकर्ताले बजारमा जुन कम्पनीको शेयर भाउ बढिरहेको छ त्यसमा मात्रै ध्यान दिएर वा अरूको लहलहैमा लागेर लगानी गरिरहेका हुन्छन् । कम्पनीको वित्तीय अवस्थालगायत समग्र पक्षको विश्लेषण गरेको हुँदैन । वित्तीय अवस्था कमजोर रहेका कम्पनीको पनि शेयर भाउ उच्च रहेको स्थितिले यही पुष्टि गर्छ । ‘त्यसरी लगानी गर्नेले बजार घट्दा ठूलो घाटा बेहोरेका हुन्छन् । हामीबाट त्यस्तो हुँदैन,’ चालिसेले भने ।
उनले गत ३ वर्षमा बजार ३ हजार बिन्दुबाट तल झरे पनि २ हजार बिन्दुको वरिपरि रहनुमा संस्थागत लगानीकर्ताको मुख्य भूमिका रहेको दाबी गरे ।
‘धेरै समयअघि बजार ११ सय बिन्दुबाट घटेर २०० बिन्दुसम्म झरेको थियो, अहिले त्यस्तो हुँदैन । किनभने अहिले हामी (संस्थागत लगानीकर्ता) बीचमा छौं । बजार घट्न लागे पनि हामीले लागत घटाउन त्यही किसिमले खरीद गरेर मेन्टेन गरिरहेका छौं । त्यसले गर्दा बजार घट्न पाउँदैन,’ चालिसेले भने, ‘विगतमा बजार घटेर १८ सय वरिपरि आएर अड्क्यो त्यो बेला म्युचुअल फन्डहरूले धेरै ठूलो भूमिका खेलेको हो । नत्र भने बजार घटेर हजार बिन्दुभन्दा तल पुग्थ्यो ।’
तर, बजारमा रहेको जम्मा शेयर संख्यामा संस्थागत लगानकर्ताको अंश अझै कम छ । ‘बजारमा उल्लेखनीय रूपमा हस्तक्षेप गर्ने खालको संस्थागत लगानीकर्ता अझै छैनन् । हाम्रोमा कुल कारोबारमा संस्थागत लगानीकर्ताको अंश १ प्रतिशतमात्रै छ, जबकि विदेशी शेयरबजारमा कुल कारोबारमा संस्थागत लगानीकर्ताको अंश १५ प्रतिशत जति हुन्छ । विदेशी शेयरबजारमा संख्यात्मक हिसाबले संस्थागत लगानीकर्ता बढी हुन्छन्,’ नेप्से प्रवक्ता पराजुलीले भने ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको २० करोड रुपैयाँको सीमा पूर्ण रूपमा हटाएको छ । यसले गर्दा पछिल्लो समय संस्थागत लगानीकर्ता बढेका हुन् । पहिले व्यक्तिगत रूपमा दोस्रो बजारमा कारोबार गर्दै आएका लगानीकर्ताले अहिले संस्थागत कारोबार गर्न थालेको ब्रोकरको भनाइ छ ।
संस्थागत लगानीकर्ता बढ्नु भनेको व्यक्तिगत लगानीकर्तालाई संस्थागत रूपमा लगानी गर्न प्रोत्साहन गरेर सहज बनाइदिनु हो । संस्थागत लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको हरेक पक्ष केलाएर, धेरै अध्ययन अनुसन्धान गरेर मात्र लगानी गरेको हुन्छ । यसो हुँदा लगानी सुरक्षित र प्रतिफल बढी हुने हुन्छ ।
बजारमा धेरै वा थोरै शेयर आपूर्ति गर्ने समस्या संस्थागत लगानीकर्ताको प्रवेशले केही हदसम्म समाधान हुन्छ । अर्कोतर्फ संस्थागत लगानीकर्ताको प्रवेशले नयाँ लगानीकर्ता आकर्षित भई मागमा वृद्धि हुन जान्छ ।
‘संस्थागत लगानीकर्ता संगठित रूपमा आउँछन् । उनीहरूले छरिएर रहेको ससानो पूँजीलाई एकै ठाउँ ल्याएर योजनाबद्ध तरीकाले १ वर्षमा यति प्रतिशत नाफा लिने भन्ने योजना बनाएर लगानी गर्छन्,’ धितोपत्र विज्ञ ज्योति दाहाल भन्छन्, ‘व्यक्तिगत लगानीकर्ताका भने त्यति धेरै योजना हुँदैन । संस्थामा आबद्ध भएर लगानी गर्दा व्यक्तिलाई फाइदा हुन्छ । संस्था हुँदा धेरै भोलाटाइल हुँदैन, १ वर्षमा यति नाफा गर्ने भनेपछि त्योभन्दा माथि जाँदैन ।’