विराटनगर। सुन र चाँदीको सबैभन्दा बढी किनबेच हुने दिन तिहारको धनतेरस भए पनि विराटनगरमा अघिल्ला वर्षहरूमा जस्तो विक्री नभएको व्यापारीहरूले बताएका छन् । सुनचाँदीको भाउ महँगिँदै जानु र नेपालमा भन्दा सीमा नजिकका भारतीय बजारमा सुनमा तोलामै ७ हजार रुपैयाँ सस्तो भएकाले विराटनगर लगायत मोरङका ठूला बजारमा व्यापार बढ्न नसकेको हो ।
सुनचाँदी व्यवसायी महासंघ, कोशी प्रदेशका उपाध्यक्ष शशिभूषण साहका अनुसार मंगलवार विराटनगरमा एक तोला सुनको मूल्य एक लाख ६९ हजार रुपैयाँमा खरीदविक्री भयो भने चाँदी तोलाको २१ सय २० रुपैयाँमा कारोबार भयो ।
जलजला रोडमा रहेको बजरंग ज्वेलेर्सका सञ्चालक समेत रहेका साहले अघिल्लो वर्षको तुलनामा यस वर्षको धनतेरसका दिन सुनचाँदीको खरीदविक्री घटेको बताए । उनका अनुसार विराटनगरका बजारमा रहेका सुनचाँदी पसलहरूमा धनतेरसको दिन चाँदीका मूर्ति र सिक्का किन्नेहरू मात्र आए । यसअघिका वर्षमा सुनका गहना, असर्फी, लक्ष्मी गणेशका मूर्ति किन्नेहरू धेरै हुने उनले सुनाए । पसलमा ग्राहक आए पनि सुन महँगो भएकाले चाँदी तथा त्यसका गहनामा उनीहरूको आकर्षण देखिएको उनको भनाइ छ ।
विराटनगरको बजारमा सामान्य अवस्थामा मासिक १५ किलो सुन खपत हुँदै आए पनि अहिले त्यो घटेको साहले उल्लेख गरे । उपभोक्ताले मूल्य बढेका बेला किन्नेभन्दा आफूसँग भएको पुरानो सुन विक्री गर्ने गरेका छन् । सुनचाँदी व्यवसायी संघ, मोरङका अध्यक्ष अशोक धिमाल सुनभन्दा चाँदीका मूर्ति र सिक्का किन्ने उपभोक्ता धेरै रहेको बताउँछन् । ‘तिहारको धनतेरसमा यसअघिका वर्षमा ग्राहकको फोन उठाएर बोल्न समेत फुर्सद हुँदैनथ्यो, तर यसपटकको धनतेरसका दिन पसलमा फाट्टफुट्ट मात्र ग्राहक आएका छन् ।’
धिमालका अनुसार पछिल्लो समय सीमावर्ती भारतीय बजारमा सुन सस्तो भएपछि उपभोक्ता अन्य सामानसहित सुन किन्न उतै जाने गरेका छन् । यस्तै सुनचाँदीका उपभोक्ता पनि पहिलेभन्दा धेरैले घटेको उनले बताए ।