नेपालमा पर्यटक संख्या बढाउने, उनीहरूको बसाइ अवधि र खर्च बढाउने बारेमा निकै चर्चा भइरहेको छ तर त्यसको व्यावहारिक सुझाव भने कमैले दिन सकेको पाइन्छ । नेपाललाई कस्तो पर्यटनबाट विश्व बजारमा चिनाउने भन्ने कुरामै नेपाल अझै अन्योल रहेको देखिन्छ । हिमाल आरोहणबाट मात्रै पर्यटक संख्या अत्यधिक बढाउन सकिँदैन किनभने त्यो सीमित व्यक्ति र खास मौसमका लागि मात्रै हो । पदयात्रामा आउने पर्यटक अहिले अलिक भरपर्दो देखिन थालेको छ तर त्यसमा पनि पर्यटक असन्तुष्ट हुन थालेका छन् किनभने सडक बनाउने नाममा पदयात्रा मार्गलाई कुरूप बनाइएको छ । यी सबैभन्दा नेपालमा बढी उपयुक्त गाउँ पर्यटन देखिन्छ जसमा लगानी खासै गर्नुपर्दैन ।
विश्वभरि नै गाउँ पर्यटन अलग प्रडक्टका रूपमा रहेको छ । नेपालका गाउँ पनि अद्वितीय छन् । त्यहाँको संस्कार, परम्परा, जीवन शैली आकर्षक छन् तर तिनको प्रचार हुन सकेको छैन । अर्को गाउँ पर्यटन प्रवर्द्धनका लागि भिटोफ अर्थात गाउँ पर्यटन प्रवर्द्धन परिषद् रहे पनि त्यसले प्रभावकारी ढंगमा काम गर्न सकेको छैन । खासमा राज्यले नै यस विधालाई उच्च प्राथमिकता दिन चुकेको देखिन्छ । विश्वभरिका सफा र उदाहरणीय गाउँको सूची निकाल्ने गरिन्छ । त्यसमा नेपाल अहिलेसम्म पर्न सकेको छैन ।
विश्व पर्यटन संगठन र गाउँ पर्यटन
विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) ले उत्कृष्ट पर्यटन गाउँहरू–२०२४ को सूचीमा नेपाल परेन । उसले हरेक वर्ष यस्तो सूची निकाल्छ । यूएनडब्ल्यूटीओको महासभाले विश्वका विभिन्न देशका ५५ गाउँहरूलाई उत्कृष्टको रूपमा छानेको थियो । दक्षिण एसियाबाट भारतको एउटा गाउँमात्रै परेको छ तर नेपालका एउटै गाउँ पनि उक्त सूचीमा परेको छैन । उक्त कार्यक्रमका लागि २६० ओटा आवेदन परेको थियो । पर्यटनमा समावेशिता ल्याउन, स्थानीय समुदायहरूलाई सशक्त बनाउन र सबै क्षेत्रमा लाभ वितरण गर्नको लागि गाउँ पर्यटन शक्तिशाली हुन सक्छ । यो पहलले ती गाउँलाई प्रोत्साहित गर्छ, जसले आफ्नो विकास तथा कल्याणका लागि पर्यटनलाई उत्प्रेरकको रूपमा उपयोग गरेका छन् ।
- दक्षिण एसियाबाट भारतको एउटा गाउँ उत्कृष्ट गाउँमा परेको छ तर
- नेपालका एउटै गाउँ पनि उक्त सूचीमा परेको छैन ।
- गाउँ पर्यटनले स्थानीय संस्कृति, परम्परा, रहन–सहन, प्रकृति र गाउँले जीवनशैलीको अनुभव प्रदान गर्छ ।
उत्कृष्ट गाउँ छान्दा सांस्कृतिक र प्राकृतिक स्रोतहरू, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन, आर्थिक स्थायित्व, सामाजिक दिगोपन, वातावरण स्थिरता र पर्यटन विकास र मूल्य शृंखलालाई आधार बनाइएको छ । यस्तै, पर्यटनमा सुशासन र प्राथमिकता, पूर्वाधार र कनेक्टिभिटी, स्वास्थ्य र सुरक्षालाई पनि यसको आधार मानिएको छ । यसले अपग्रेडका लागि पनि गाउँ छान्ने गरेको छ र त्यसमा पनि नेपाल पर्न सकेन । संयुक्त राष्ट्रसंघ पर्यटनको ‘बेस्ट टुरिजम भिलेज’ पहल संयुक्त राष्ट्रसंघ पर्यटनको ग्रामीण विकास कार्यक्रम अन्तर्गत पर्छ । यस कार्यक्रमले ग्रामीण क्षेत्रमा विकास र समावेशीकरणलाई प्रवर्द्धन गर्ने, जनसंख्या घट्ने समस्यासँग लड्ने, पर्यटनमार्फत नवीनता (इनोभेसन) र मूल्य शृंखला एकीकरणलाई अघि बढाउने तथा दिगो अभ्यासलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ । नेपालले यसको सूचीमा पर्नका लागि कुनै आवेदन दिएको देखिँदैन । उत्कृष्ट ग्रामीण पर्यटन गन्तव्यहरूलाई सम्मान गर्ने पहल हो, जसमा सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरू सुरक्षित गरिएका छन् । त्यस्तै यसले गाउँहरूको नेटवर्क बनाई सदस्यहरूबीच अनुभव आदान–प्रदानको वातावरण बनाइदिन्छ । असल अभ्याशहरू सिक्ने अवसर प्रदान गर्छ । विज्ञहरू, सार्वजनिक र निजी क्षेत्रका साझेदारहरूबीच ग्रामीण पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने अवसर प्रदान गर्छ । यसमा नेपाल नपर्नुको अर्थ गाउँ पर्यटनको लाभबाट वञ्चित रहनु हो र यस क्षेत्रमा नेपालले धेरै गर्न बाँकी छ भन्ने हो ।
के हो गाउँ पर्यटन ?
गाउँ पर्यटन भनेको स्थानीयपन झल्कने तल्लो तहको गाउँमुखी पर्यटन उद्योग हो जहाँ स्थानीय जनता (गाउँलेहरू), वातावरण, भेषभूषा, सीप र स्रोतसाधन परिचालित हुन्छ । यसमा सामाजिक तथा पर्यावरणीय अभ्यासलाई सन्तुलित राख्दछन्् जसबाट गाउँ तथा गाउँको अर्थतन्त्रलाई बलियो बन्छ । गाउँ पर्यटनले धनी र गरीब बीचको आर्थिक दूरी हटाउन मद्दत गर्दछ । गाउँबाट शहर पस्ने र बसाइँ सर्ने क्रम घट्छ र गाउँमै रोजगारी सिर्जना हुन सक्दछ । गाउँ पर्यटनले प्रत्येक गाउँको विकासमा आफैले आम्दानी र खर्च गर्न सक्ने दरिलो ग्रामीण अर्थतन्त्रको विकास गर्न सक्दछ ।
नेपालको गाउँ विश्वकै लागि नमुना हुन सक्छ तर अहिले गाउँमा आफ्नोपन नै नासिएको अवस्था छ । त्यतिमात्र होइन, गाउँहरू रित्तिन थालेका छन् । बेलैमा गाउँ पर्यटनलाई बलियो बनाएको भए यस्तो अवस्था आउने थिएन । अझै पनि यस्ता गाउँहरू थुप्रै छन् जहाँ गाउँ पर्यटनको सम्भावना छ । यसका लागि स्थानीयलाई तालीम दिनुपर्छ । केही आधारभूत सुविधा थप्नुपर्छ तर गाउँको मौलिकता नजोगाई गाउँ पर्यटन बढाउन भने सकिँदैन । कल्पना गरौं, अमेरिकाबाट आएको एउटा पर्यटकले ढिकीजाँतो, पँधेरो, रोपाइँ, यी सबै कुरा देख्न र त्यसमा सहभागी हुन पाउँछ भने कति रमाउला ? तर यस दृष्टिकोणबाट गाउँ पर्यटनलाई अघि बढाउन सकिएको छैन ।
गाउँ पर्यटन भनेको होमस्टे हो, पदयात्रा पनि गाउँ पर्यटनकै अंग हो भन्ने सोच कतिपयमा पाइन्छ । तर त्यो गाउँ पर्यटन होइन । मेलामहोत्सवको तामझामले स्थानीय नाचगान र चाडपर्व नै बिर्साइदिएको छ । त्यसैले गाउँको मौलिकता जोगाएर त्यसमा पर्यटन प्रडक्टका आधारभूत कुरा जोड्ने हो भने बल्ल गाउँ पर्यटन हुन्छ ।
गाउँ पर्यटन भनेको स्थानीयपन झल्कने तल्लो तहको गाउँमुखी पर्यटन उद्योग हो जहाँ स्थानीय जनता (गाउँलेहरू), वातावरण, भेषभूषा, सीप र स्रोतसाधन परिचालित हुन्छ ।
नेपालको पर्यटन काठमाडौं, पोखरा र सौराहामा बढी केन्द्रित छ । पदयात्रा, होमस्टे र गाउँमा खुल्न थालेका रिसोर्टलाई गाउँ पर्यटन मान्ने मानिशहरू छन् । वास्तवमा गाउँ पर्यटन त्यस्तो होइन । घान्द्रुक वा घले गाउँले पनि गाउँ पर्यटनलाई पूर्ण रूपमा चिनाउँदैन । सिरुबारीलाई भने गाउँ पर्यटनको स्थल मानिएको छ । त्यसैले गाउँ पर्यटनले स्थानीय संस्कृति, परम्परा, रहन–सहन, प्रकृति, र गाउँले जीवनशैलीको अनुभव प्रदान गर्छ । शहरको भिडभाड र प्रदूषणबाट टाढा रहेर शान्त वातावरणमा प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, तथा स्थानीय भोजनको आनन्द लिन चाहने पर्यटकहरू गाउँ पर्यटनमा आकर्षित हुन्छन् । यसले स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन हुन्छ र गाउँमा चल्ने चाडपर्व, नाचगान, हस्तकला तथा लोक संस्कृतिको अनुभव लिन पाइन्छ । यसमा स्थानीय उत्पादनको प्रयोग र गाउँका जैविक उत्पादन, स्थानीय खाना, तथा हस्तकलालाई प्रवर्द्धन गरिन्छ । प्राकृतिक सौन्दर्य र वातावरणीय शुद्धता कायम गरिन्छ र हरियाली वनजंगल, खोलानाला, हिमाल र सुन्दर दृश्यहरूको अवलोकन गर्न सकिन्छ । यसबाट स्थानीय अर्थतन्त्रको प्रवर्द्धन हुन्छ र पर्यटनकै कारण होटल, होमस्टे, यातायात तथा हस्तकला क्षेत्रमा रोजगार सिर्जना हुन्छ । सहज तथा सस्तो यात्रा अनुभव हो यो । शहरको तुलनामा कम खर्चमा यात्राको अवसर मिल्छ तर गाउँमा घुलमिल भएर त्यहाँका जनजीवन, संस्कृति बुझ्न धेरै समय लाग्ने भएकाले पर्यटकको बसाइ बढ्छ र पर्यटकले बढी खर्च गर्छन् ।
गाउँ पर्यटनले ग्रामीण भेगको आर्थिक विकास मात्र होइन, सांस्कृतिक संरक्षण र वातावरणीय सन्तुलनमा समेत योगदान पुर्याउँछ । नेपाल जस्तो विविधतायुक्त मुलुकमा गाउँ पर्यटनलाई प्रवर्द्धन गर्न सके दिगो पर्यटन तथा समग्र आर्थिक उन्नतिमा मद्दत पुग्छ ।
पर्यटनमा नवीनताका र विकल्पको खोजी
पर्यटनमा जहिले पनि नवीनताको खोजी हुन्छ । त्यही हिमाल, त्यही पोखरा वा सौराहा हेर्न पर्यटक कतिपटक आउलान् ? कति पर्यटन आउलान् ? तर, गाउँ पर्यटनमा भने अथाह सम्भावना छ । त्यसैले साहसिक पर्यटन वा सांस्कृतिक सम्पदा अवलोकन पर्यटनको विकल्पमा गाउँ पर्यटन निकै दिगो हुन्छ । यो आधुनिक युगमा मानिसलाई प्राचीन युगसँग जोड्ने काम हो । त्यसैले गाउँको अनुभव पर्यटकका लागि निकै नौलो हुन्छ । पर्यटन भनेको नयाँ अनुभवको खोजी हो । विश्वभरि नै पर्यटन भनेको बालुवा अर्थात् समुद्र तट, पानी र पुराना स्मारक रहेका छन् । यी क्षेत्रसँग अहिले पर्यटक अघाउन थालेका छन् । यहाँको भिडभाड छाडेर एकान्तको खोजीमा लाग्न थालेका छन् । त्यसैले यो पर्यटनको विकल्पमा गाउँ पर्यटन निकै उपयुक्त देखिन्छ ।
गाउँ नै गाउँले भरिएको देश हो नेपाल । यहाँ साना–ठूला गरी हजारौँ गाउँहरू छन् । नेपालको वास्तविक सुन्दरता र चित्र गाउँमा देख्न पाइन्छ । हाम्रा यी सुन्दर गाउँहरूमा पर्यटक भित्र्याउन सकिन्छ । आय आर्जन बढाउन सकिन्छ । त्यसका लागि हामीले गाउँ गाउँमा पर्यटन प्रवर्द्धन गर्नुपर्दछ । गाउँहरूको विकास पर्यटनबाट सम्भव छ । गाउँहरूको विकास हुनु भनेको नेपालको विकास हुनु हो ।
गाउँ पर्यटन बलियो भयो भने शहरी पर्यटन पनि बलियो हुन्छ किनभने गाउँमा जाने पर्यटक शहरमा पनि बसिहाल्छ । अत: गाउँ पर्यटनको ठोस मोडल बनाई ‘भिजिट भिलेज अफ नेपाल’ कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।
नेपालका गाउँहरू सुन्दर त छन् तर ती निकै अविकसित र पिछडिएका छन् । तैपनि त्यहाँ केही यस्ता मौलिकता छन् जसलाई हामी पर्यटन प्रडक्टका रूपमा बेच्न सक्छौं । त्यो भनेको गाउँ पर्यटन हो । यो गाउँमा पर्यटक लैजाने र त्यसकै माध्यमबाट आयआर्जन गर्ने क्रियाकलाप हो । गाउँको सुन्दर दृश्य, खुल्ला वातावरण, स्वच्छ हावापानी, एकान्त स्थान, परम्परागत समाज र जीवनपद्धति, गाउँहरूको परम्परागत संस्कृति, सांस्कृतिक बाहुल्य, प्राकृतिक संसाधन, गाउँलेसँगको सम्बन्ध यी सबै गाउँ पर्यटनका पूर्वाधार हुन् । ती कुराहरूको संरक्षण, संवद्र्धन, प्रवर्द्धन, विकास र परिचालनबाट नै गाउँमा मनग्य आम्दानी हुन सक्दछ । त्यसकारण राज्यले ती सबै गाउँको स्थितिअनुरूपको प्रवर्द्धन योजना बनाउनुपर्दछ र सोही हिसाबले प्रचारप्रसार गर्नुपर्दछ । हरेक ठाउँमा सफा हुने बानीको मात्र विकास गर्न सक्यौँ भने अरू स्थिति आफैमा सुन्दर हुन्छ । जस्तै गाउँको सरसफाइ, हिँड्ने बाटो, बस्ने ठाउँ, घर वरपर, कोठा, सुत्ने बेड, ट्वाइलेट, प्रयोग गर्ने भाँडा यति मात्रैमा ध्यान दिइयो भने बाँकी कुरा भइरहेको स्थिति नै अद्भुत छ । त्यतिले मात्र गाउँ पर्यटनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ । यसको लागि ठूलो लगानी र खर्चको आवश्यकता पर्दैन । राज्यको इच्छाशक्ति र पर्यटन प्रवर्द्धनको योजना र कार्यक्रम मात्र भए पुग्छ । त्यसलाई लागू गर्नको लागि सरकारी संयन्त्र, ग्रामीण पर्यटन विकास समितिहरू सक्रिय हुन आवश्यक छ ।
शहरमा आउने पर्यटकले विदेशी वस्तु उपभोग गर्छ । त्यसका लागि पैसा विदेशिन्छ तर गाउँ पर्यटकले गाउँकै वस्तु उपभोग गर्छ । स्थानीय मौलिकतामै रमाउँछ । त्यहाँबाट उसले केही कोसेली पनि लान सक्छ । गाउँ पर्यटनमा आएको पर्यटक घर, परिवार र समाजको संस्कारसँग परिचित हुन्छ । ऊ त्यो घरका हरेक क्रियाकलापप्रति यति धेरै आशक्त हुन्छ कि सबै कुरा र व्यवहार अनौठा र लोभलाग्दो पाउँछ । यसरी कुनै पर्यटक एक दुई दिन, कुनै एक हप्ता त कति महिनौँ दिनसम्म पनि गाउँमै बस्छन् । बसे बापतको निश्चित रकम घरले पाउँछ । यो दिगो पर्यटनको आधार हो । यसले पर्यावरण बिगार्दैन न अन्य कुनै वातावरणीय क्षति नै पुर्याउँछ ।
गाउँ पर्यटनको बाटो
अब गाउँ पर्यटनका लागि नेपालले पहल गर्नुपर्छ । भिजिट नेपालको निकै चर्चा हुन्छ तर वास्तवमा गर्नुपर्ने कार्यक्रम भनेको ‘भिजिट भिलेज अफ नेपाल’ हो । नेपालका गाउँको प्रचार गर्नुपर्छ । गाउँलाई पर्यटकीय गाउँ बनाउनुपर्छ । सफासुग्घर गाउँ बनाउनुपर्छ । विश्वको उत्कृष्ट पर्यटकीय गाउँमा पार्न पहल गर्नुपर्छ । त्यसका लागि अहिले भइरहेका केही पर्यटकीय गाउँमात्र पर्याप्त र उपयुक्त देखिँदैनन् । विश्वका अन्य पर्यटकीय गाउँसँग सम्बन्ध राखेर त्यसबाट पाठ सिक्नु पनि पर्छ । विकसित देशका गाउँमा पर्यटन फस्टाउन सक्छ भने नेपालको विकट गाउँका ज्यादै मौलिकतायुक्त तथा विश्वका लागि रहस्यमय गाउँ पर्यटकका लागि मन नपर्ने त कुरै छैन ।
अब नेपालको पर्यटनलाई गाउँसँग जोड्नुपर्छ । अब धेरैभन्दा धेरै पर्यटकलाई गाउँ–गाउँमा पुर्याउनु पर्छ । गाउँ पुगेर फर्किने पर्यटक वास्तविक नेपाल देख्न पाएँ भनेर सन्तुष्ट हुन्छ । तर, गाउँमा राम्रा पक्षलाई जोगाउनुपर्छ भने नराम्रा पक्षमा सुधार गर्नुपर्छ । स्थानीयलाई नै यसका बारेमा सिकाउनुपर्छ । पर्यटनको अत्यधिक लाभ स्थानीयले पाउनुपर्छ । अनि यसको आयबाट गाउँलाई स्वच्छ बनाउने अभियानका लागि खर्च गर्नुपर्छ । अब नेपालको पर्यटनको नाममा काठमाडौं, पोखरा र चितवनमात्र देखाएर न त पर्यटक सन्तुष्ट हुन्छन् न त व्यवसाय नै दिगो हुन्छ । यस्तोमा सरकारले पनि पर्यटनका लागि दीर्घकालीन सोच बनाएर जानुपर्छ ।
सरकारी प्रयास
पछिल्लो समय गाउँ पर्यटन क्षेत्र एउटा गतिमा अगाडि बढिरहेको छ । यसमा सरकारले आफनो ठाउँबाट पनि काम गरिरहेको छ भने निजी क्षेत्रबाट पनि विभिन्न प्रयाशहरू भइरहेका छन् । सरकारले गाउँ पर्यटनका लागि कार्यविधि बनाएको छ । त्यसमा पर्यटनको लाभ स्थानीय तहसम्म पुर्याउने लक्ष्य राखिएको छ । पर्यटन गाउँ छनोट, विकास तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७७ जारी गरी मापदण्ड पूरा भएका क्षेत्रलाई पर्यटन गाउँका रूपमा विकास गर्ने सरकारको योजना छ ।
कार्यविधिअनुसार पर्यटन गाउँ प्राकृतिक, सांस्कृतिक, मानव निर्मित अथवा मिश्रित हुन सक्नेछ । यस्तो गाउँको विशिष्ट पर्यटकीय आकर्षण, स्थानीय सामाजिक र सांस्कृतिक जीवन, मनोरञ्जनात्मक स्थल, साहसिक गतिविधिलगायत पर्यटक आकर्षित गर्नसक्ने विशेषतालाई पर्यटक गाउँ छनोटको आधार बनाइने भएको छ ।
पर्यटन गाउँको प्रवर्द्धन तथा बजारीकरण नेपाल पर्यटन बोर्ड र प्रदेश सरकारले गर्ने उल्लेख छ । तर, यी अपर्याप्त छन् । जसका कारण पर्यटन क्षेत्र अहिले जुन उचाइमा पुग्नुपर्ने हो त्यहाँ पुग्न सकेको छैन । देशमा पर्यटक आएमात्र पर्यटन सम्बन्धित सबै व्यवसाय फस्टाउने हो । यसैले नेपालमा धेरै भन्दा धैरे पर्यटक भित्र्याउन नेपालका गाउँको प्रवर्द्धन हुनुपर्छ । नेपाल पर्यटन बोर्ड र गाउँ पर्यटन प्रवर्द्धन मञ्च आदिले पनि गाउँ पर्यटन प्रवर्द्धनमा काम गरिरहेका छन् । तर सरकारले गाउँ पर्यटनलाई नेपालको पर्यटनको मुख्य हिस्सा बनाउने गरी काम गर्न सकेको छैन ।
पर्यटनका अन्य विधा पनि आवश्यक हुन्छ । शहरी पर्यटन पनि चाहिन्छ । तर गाउँ पर्यटनलाई बढी जोड दिनुपर्छ । गाउँ पर्यटन बलियो भयो भने शहरी पर्यटन पनि बलियो हुन्छ किनभने गाउँमा जाने पर्यटक शहरमा पनि बसिहाल्छ । त्यसैले पर्यटन व्यवसायमा संलग्न सबैलाई यसले लाभ दिन्छ । अत: गाउँ पर्यटनको ठोस मोडल बनाई भिजिट भिलेज अफ नेपाल कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।