नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो हिन्दू राष्ट्रवादी पार्टीले स्थानीय चुनावमा राजधानी दिल्लीको सत्ता प्राप्त गर्ने संकेत गरेकाले 'विकासको विजय' भएको बताएका छन् । 'विकासले जितेको छ, सुशासनले जितेको छ,' मोदीले भनेका छन् ।
मतगणना जारी छ, तर पूर्व मुख्यमन्त्री( प्रधानमन्त्रीका प्रमुख विपक्षी नेता) ले आफ्नो सीट गुमाएको पुष्टि गरेका छन्। अरविन्द केजरीवालले मोदीको भारतीय जनता पार्टी (भाजपा) सँग आफ्नो सीट गुमाएको बताएका छन् । 'हामी परिणामलाई स्वीकार गर्छौं र भाजपालाई बधाई दिन्छौं,' केजरीवालले एक भिडियो वक्तव्यमा भनेका छन्।
मोदीको भाजपा केन्द्र सरकारमा छ, तर सन् १९९८ देखि राजधानी दिल्लीको स्थानीय विधायिकामा बलियो उपस्थिति कायम गर्न सकेको थिएन । यो जीत सांकेतिक र रणनीतिक रूपमा भाजपाको महत्वपूर्ण विजय हुनेछ । 'हामी दिल्लीको समग्र विकास सुनिश्चित गर्न र त्यहाँका बासिन्दाको जीवनलाई राम्रो बनाउन कुनै कसर बाँकी राख्नेछैनौं,' मोदीले सामाजिक सञ्जालमा लेखेका छन्।
बुधबार भएको चुनावको परिणाम गणना भइरहेका बेला भारतीय जनता पार्टी (भाजपा) का समर्थकले नयाँ दिल्लीस्थित मुख्यालयबाहिर मोदीको झण्डा र पोस्टर फहराउँदै हर्षोल्लास मनाइरहेका छन् ।
निर्वाचन आयोगका अनुसार मोदीको पार्टीले ७० सिटको विधानसभामा भाजपा ले दुई तिहाईभन्दा बढी स्थानमा अग्रता लिएको छ । 'हाम्रो विजय प्रधानमन्त्री मोदीको प्रगतिको दृष्टिकोणमा जनताको विश्वासको सङ्केत हो,' गृहमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता अमित शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'दिल्लीको जनादेशले के देखाउँछ भने हरेक पटक झुट बोलेर जनता भ्रममा पर्न सक्दैनन्।'
एक दशकअघि भ्रष्टाचारविरोधी अभियान्ताका रूपमा सत्तामा पुगेका केजरीवालले रक्सीको लाइसेन्सको बदलामा घूस लिएको आरोपमा गत वर्ष महिनौं जेल जीवन बिताएका थिए । केजरीवालले उक्त आरोपलाई मोदी सरकारको राजनीतिक बदलाको शिकारको संज्ञा दिएका छन् । गत वर्ष भारतको आम चुनावमा भाजपाले सत्तामा रहे पनि ठूलो क्षति व्यहोर्नुपरेको थियो । सोहि बेला गठन भएको विपक्षी गुटको प्रमुख मध्ये उनी एक थिए।
नयाँ दिल्लीस्थित सेन्टर फर पोलिसी रिसर्च थिंक ट्यांकका राहुल वर्माले केजरीवालको पराजयले भाजपालाई 'निकै बलियो स्थितिमा' पुर्याएको बताएका छन् । एएफपी