अदक्ष कामदारको सट्टा दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन सकिए लाभ बढी हुने भन्दै सरकारले दक्ष जनशक्ति निर्यातलाई प्राथमिकता दिएको छ । पछिल्लो समय अदक्षको दाँजोमा चार पाँच गुणा बढी दक्ष कामदार वैदेशिक रोजगारीमा गएको पाइएको छ । यसरी दक्ष जनशक्ति बाहिरिँदा साँचिकै दक्ष जनशक्ति पठाउन सकिएको हो वा प्रतिभा पलायन भएको हो, छुट्ट्याउन कठिन भएको छ ।
रोजगारीकै लागि मात्रै विदेशिएका हुन् भने तिनले पठाउने विप्रेषण रकम निकै बढ्ने देखिन्न्छ । त्यसले देशलाई फाइदा हुन्छ । यस्तो जनशक्ति नेपाल फर्किएर आउँछ र उसले विदेशमा सिकेको शीप र रकम लगानी गरेर यहीँ कुनै व्यवसाय गर्छ । तर, प्रतिभा पलायन हो भने त्यसले मुलुकमा गम्भीर असर ल्याउने निश्चित छ ।
खाडी मुलुक, मलेशिया र कतारमा केन्द्रित वैदेशिक रोजगार अहिले यूरोपतिर मोडिन थालेको छ । खाडी मुलुकमै पनि अदक्ष कामदारको सट्टा उच्च दक्षतायुक्त जनशक्ति काम गर्न जान थालेको छ । नेपालमा भन्दा पाँच छ गुणा बढी कमाइ हुने भएकाले यहाँ शीप र दक्षता प्राप्त गरेको जनशक्ति विदेशिन थालेको हो । यसरी विदेशिनुमा कामदारको रोजाइ र इच्छाले मात्र काम गरेको छैन ।
नेपालका बैंकहरू मर्जरमा गएपछि बैंकमा कार्यरत धेरै दक्ष जनशक्तिको जागिर धरापमा पर्यो । यसरी जागीर गुमाएकाहरू विदेशिएका छन् । त्यस्तै कोरोनाका कारण होटेलहरू चल्न सकेनन् र तिनलाई रोजगारदाताले उचित पारिश्रमिक दिन सकेनन् । यस्तो जनशक्ति पनि वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै नेपालमा उत्पादित डाक्टर र इन्जिनीयरहरू पनि वैदेशिक रोजगारीमा जान थालेका छन् । खाडी मुलुकमा तिनले पाउने तलब यहाँको भन्दा निकै गुणा बढी भएकाले उनीहरू त्यता लागेका छन् । यसले के देखाउँछ भने दक्ष जनशक्ति उत्पादन गर्दा मुलुक चाँडै समृद्ध हुन सक्छ ।
हो, विगतमा विदेशी बासी स्याउभन्दा स्वदेशी नास्पाती मीठो भन्ने नारा आकर्षक लाग्थ्यो । भोकै मर्नु परे पनि स्वदेश नै जाती भन्ने भनाइमा मानिस ताली पड्काउँथे । तर, अहिले यस्तो कोरा नारा कसैलाई पनि पाच्य छैन । त्यसैले अवसरको खोजीमा विश्वभर छरिनु अनौठो होइन । उदारीकरण र विश्वव्यापीकरणले खुलेको यही ढोकाका कारण अहिले नेपाली नपुगेको र काम नगरेको मुलुक पाउन कठिन छ । यसलाई पूरै नकारात्मक भन्न सकिँदैन ।
यसको अर्को पाटो निकै अँध्यारो पनि छ । दक्ष युवा सबै विदेशिएपछि मुलुकभित्र अदक्ष मानिसहरूको मात्रै बसोवास हुने, सार्वजनिक प्रशासनदेखि अस्पतालसम्म यस्तो कमजोर जनशक्तिबाट परिचालित हुने अवस्था आउन सक्छ । त्यसैले दक्ष जनशक्ति यसरी बाहिरिनु चिन्ताको विषय हो । यद्यपि अहिले युवाहरू विदेश जानुलाई आकाशै खसेको जस्तो गरी चित्रण गर्ने गरिन्छ जुन सही हैन ।
नेपालले ठूलो लगानी गरेर दक्ष जनशक्ति उत्पादन गरेको तथ्य यहाँनेर स्मरणीय छ । एउटा दक्ष चिकित्सक उत्पादन गर्न राज्यको लगानी निकै परेको हुन्छ । अझ कतिपय त सरकारी छात्रवृत्तिमा डाक्टर बनेका हुन्छन् । तिनलाई निश्चित अवधि सरकारी अस्पतालमा सेवा गर्न अनिवार्य गरिएको पनि हुन्छ । यस्ता डाक्टरसमेत अनेक बहाना बनाएर विदेशिएका छन् । सरकारी छात्रवृत्तिमा पढेका डाक्टरसमेत विदेशिए भने नेपालमा डाक्टरको अभाव हुन सक्छ । यस्तो प्रतिभा पलायन हुँदा देशले आफूलाई आवश्यक पर्ने दक्ष जनशक्ति पाउँदैन । विदेशिनेमध्ये अधिकांशको सोचाइ उतै स्थायी बसोवास गर्ने ध्येय हुन्छ । धेरै देशले सहजै स्थायी बसोवासको अनुमति दिने हुँदा ती नेपाल फर्किएर आउने सम्भावना न्यून हुन्छ । यसरी मुलुक झन् झन् समस्यामा पर्दै जान्छ । देशको विकासले गति लिँदैन, सरकारले जनतालाई दिने सेवा प्रवाह पनि गुणस्तरको हुँदैन ।
वैदेशिक रोजगारीमा सकारात्मक र नकारात्मक दुवै पाटा छन् । अहिले नेपालले निर्यात गरेका केही प्रमुख वस्तु विदेशमा बस्ने नेपालीकै कारण निर्यात भएको हो । विश्वमा नेपाली खाना र संस्कृतिको प्रचार पनि यही कारण बढेको छ । यही कारण पर्यटक आगमनमा समेत सकारात्मक प्रभाव परेको पाइन्छ ।
त्यसैले नेपालले कस्तो जनशक्ति टिकाउने हो र कस्तो जनशक्ति विदेश पठाउने हो स्पष्ट नीति बनाउन आवश्यक छ । प्रतिभा पलायन ठूलो चुनौती रहेको भनाइ प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको पाइन्छ । यदि यसलाई रोक्ने हो भने त्यसअनुसार सुविधा दिन सक्नुपर्छ ।
अर्को, वृत्तिविकास र अनुसन्धानजस्ता कार्यका लागि नेपालमा अवसर प्रशस्त हुने हो भने पनि दक्ष जनशक्ति नेपालमै अडिन सक्छ । मुख्य कुरा जनतामा आशाको सञ्चार गराउन आवश्यक छ । अहिलेको राजनीतिले युवामा आशा होइन, निराशा र वितृष्णा मात्रै जगाएको छ । सरकारप्रति आक्रोश र अविश्वास बढ्दो छ । यसलाई नरोक्ने हो भने भोलिका दिनमा मुलुक पूरै वृद्धाश्रम नबन्ला भन्न सकिँदैन ।