काठमाडौं । पछिल्लो समय शेयर बजारमा धेरैको चासो बढ्न थालेको छ । हरेक स-साना पसल, विद्यार्थी, देखि ठूलाठूला व्यवसायिक घरानाहरूले समेत चासो लिन थालेका छन् । यसोत सामाजिक सञ्जालका विभिन्न ग्रुपहरुमा पनि शेयर बजारको बारेमा कुरा चलिरहेको हुन्छ । लगानी गर्नु भन्दा पहिला शेयर बजार बारेमा धेरै अध्धयन गर्नु जरुरी हुन्छ ।
यस क्षेत्रमा केही मानिसहरू त बुझेर नै लागेका हुन्छन् भने कतिपय अरूले भनेको आधारमा लगानी गरिरहेका हुन्छन् । यस्तो अवस्थामा गरिएको लगानी केही समय राम्रो भए पनि जोखिमयुक्त हुने गर्दछ ।
सोही कारण शेयर बजारमा लगानी गर्नुपूर्व लगानीकर्ताले बजारको ट्रेण्ड र कम्पनीको वित्तीय विवरण राम्रोसँग अध्ययन गर्नु जरुरी हुन्छ । धितोपत्रको दोस्रो बजारमा लगानी गर्नु पूर्व कम्पनीका प्रमुख सूचक मूल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ र जगेडा कोषसम्बन्धी सूचकले लगानीकर्तालाई लगानी रणनीति बनाउन सहयोग पुग्ने देखिन्छ ।
प्रतिशेयर आम्दानी
प्रतिशेयर आम्दानी कम्पनीले आर्जन गरेको मुनाफालाई कुल शेयर संख्याले भाग गरेर निकालिन्छ । यसरी निकालिएको प्रतिशेयर आम्दानी तीन महिनासम्म उपयुक्त हुन्छ । यसलाई वार्षिकीकरण गर्ने हो भने फरक सूत्र प्रयोग गर्नुपर्छ । यद्यपि शेयर लगानी गर्नेहरूको लागि तीन/तीन महिनामा निकालिने प्रतिसेयर आम्दानी बढी महत्वपूर्ण हुन्छ । यो शेयर मूल्य मापन गर्ने एक महत्वपूर्ण औजार हो ।
प्रतिशेयर आम्दानी धेरै भएकोलाई राम्रो मानिन्छ भने कम भएको कमसल । जुन कम्पनीको प्रतिशेयर आम्दानीदर वृद्धि भइरहेको छ, त्यस्तो संस्थामा लगानी गर्नु उपयुक्त मानिन्छ । यसले कम्पनीको कमाइ राम्रो भइरहेको र लगानीकर्ताले राम्रो प्रतिफल पाउन सक्ने अवस्था रहेको संकेत गर्छ ।
मूल्य आम्दानी अनुपात
पछिल्लो बजार मूल्यलाई प्रतिशेयर आम्दानीले भाग गरेर आउने अनुपातलाई मूल्य आम्दानी अनुपात भनिन्छ । यो अनुपात जति कम भयो त्यही नै राम्रो हो । कम मूल्य आम्दानी अनुपात भएको कम्पनीको शेयरमा लगानी गरेमा जोखिम कम र मूल्य बढ्ने अनुमान गर्न सकिन्छ । यसो त मूल्य आम्दानी अनुपात बढी भएको कम्पनीमा लगानी गरेमा जोखिम बढी हुने गर्छ ।
सामान्यतया मूल्य आम्दानी अनुपात १८ देखि २५ रहेको कम्पनीमा लगानी गर्नु सुरक्षित मानिन्छ । पछिल्लो समय केही कम्पनीको मूल्य आम्दानी अनुपात १ सयभन्दा बढी रहेको छ । यस्तो कम्पनीहरूको शेयरमा बढी जोखिम हुने गर्दछ । कम्पनीहरूले तीन/तीन महीनामा यो अनुपात दिने गरे पनि लगानीकर्ताले जहिले चाहियो त्यति बेला नै हिसाब गरेर पछिल्लो अवस्था थाहा पाउन सकिन्छ । बजार धेरै नै घटेको अवस्थामा यो अनुपातलाई पनि हेरेर लगानी गरेमा प्रतिफल राम्रो हुने गर्छ ।
प्रतिशेयर नेटवर्थ
प्रतिशेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ कि छैन भनेर मूल्यांकन गर्न सकिन्छ । यो धेरै हुनु नै राम्रो मानिन्छ । प्रतिशेयर नेटवर्थ वृद्धि हुनुले उसको दायित्व घटिरहेको छ भन्ने देखाउँछ । यदि यो सूचक नकारात्मक भएमा कम्पनीको अवस्था खराब रहेको बुझ्न सकिन्छ । लगानी गर्नुपूर्व लगानीकर्ताले धेरै नेटवर्थ भएको कम्पनीमा लगानी गर्नु उचित मानिन्छ । यसलाई किताबी मूल्य पनि भनिन्छ ।
यदि कम्पनी केही कारणबस डुब्ने अवस्था आएमा आफ्ना लगानीकर्तालाई किताबी मूल्यको आधारमा लगानी फिर्ता गर्ने गर्दछ । नेटवर्थ निकाल्ने सूत्र : कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउने र आउने परिणामलाई कुल शेयर संख्याले भाग गर्नुपर्छ ।
जगेडा कोष
लगानीकर्ताले लगानी गर्नुपूर्व यो महत्वपूर्ण कोष पनि हेर्नुपर्ने हुन्छ । कम्पनीले सार्वजनिक गर्ने वित्तीय विवरणमा चुक्ता पूँजीसँगै जगेडालाई पनि उल्लेख गरिएको हुन्छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै खडा भएको यो कोषले कम्पनीको प्रतिकूल अवस्थाको सामना गर्ने क्षमतालाई बुझाउँछ । यो कोषको आकार जति बलियो हुन्छ, त्यति कम्पनीहरुको जोखिम वहन क्षमता मजबुत भएको मानिन्छ । अर्कोतिर बोनस शेयर दिएर पूँजी वृद्धि गर्न सहयोग पुग्दछ ।
यी माथिका सूचकसँगै लगानीकर्ताले बजारको ट्रेण्ड र अल्पकालीन लगानी या दीर्घकालीन लगानी गर्ने भनी यकिन गरेमा शेयर बजारबाट प्रतिफल प्राप्त गर्न सकिन्छ । कहिल्यै पनि शेयर बजारमा लगानी गर्ने पैसा ऋण या सापटी लिएर गर्नु हुँदैन । स्वयम् आफूले जोखिम बहन गर्न सक्ने क्षमतालाई मध्यनजर गरेर लगानी गर्नुपर्ने हुन्छ । शेयर बजार भनेको सधैं बढ्ने मात्र पनि होइन घट्ने मात्र पनि होइन । यी दुई ट्रेण्डलाई सूक्ष्म अध्ययन गरेर लगानी गरेमा प्रतिफल प्राप्त हुने हो।
शेयर बजार नितान्त प्राविधिक बिषय भएकाले यसका अन्य पक्षको समेत प्रयाप्त अध्ययन, बिश्लेषण गरेर मात्रै लगानीको धारणा बनाउनु उपयुक्त हुन्छ ।