मल्लिका घिमिरे/लक्ष्मी शर्मा
काठमाडौं । अहिले चाडपर्वमा अनावश्यक खर्च गर्ने प्रवृत्ति बढेको छ । तर, यस्तो खर्च कम गरेर पूँजीबजारमा लगानी गरेमा भविष्यमा राम्रो प्रतिफल पाउन सकिन्छ । दशैंमा अन्य चार्डपर्वको तुलनामा बढी बिदा हुने भएकाले नयाँ नयाँ ठाउँमा घुम्नेहरू बढ्दै गएका छन् । सबैभन्दा ठूलो पर्व भएकाले पनि दशैंलाई नेपालीहरू अलि बढी नै खर्च गरेर मनाउँछन् ।
चापडर्व संस्कृतिका अभिन्न अङ्ग हुन् । यस्ता पर्व मनाउनु पनि पर्छ । तर, खर्च धेरै गर्दैमा यी पर्व रमाइलो हुन्छ भन्ने छैन । यस्तो खर्च घटाएर लगानी गर्ने राम्रो विकल्प शेयरबजार हो । दशैंंमा गरिने खर्च कम गर्न सक्ने पूँजीबजारमा लगाउने वातावरण बन्छ ।
शेयरबजारमा गरिएको लगानीबाट छोटो समयमै राम्रो प्रतिफल पाउन सकिन्छ । दशैंंमा प्राप्त हुने दक्षिणा पनि शेयरबजारमा लगाउन सकिन्छ । यस क्षेत्रमा लगानी गरे मुनाफा पनि राम्रै पाइन्छ ।
केही वर्षको तुलनामा अहिले चार्डपर्व मनाउने चलन फरक हुँदै आएको छ । पहिला दशैंमा एक जोर नयाँ लुगा किन्ने र टीका लगाउन आफन्तकोमा जाने चलन थियो । घर परिवारदेखि टाडा वा विदेशमा रहेका नेपाली दशैं मनाउन जसरी पनि बिदा मिलाएर घर आउने गर्दथे । तर, अहिले चाडपर्वलाई विभिन्न तरीकाले मनाउने गरिन्छ । विदेशमा भएका धेरैजसो नेपाली अचेल विदेशतिर घुमघाम गरेर यो पर्व मनाउँछन् । देशमा भएकाहरू पनि नयाँ नयाँ ठाउँ घुमेर दशैं मनाउने गरेको पाइन्छ । तर, दशैंबाहेकका पर्वमा घुम्ने नेपालीको सङ्ख्या भने कम छ ।
ठूलो पर्व भएकाले दशैंमा संस्थाहरूले कर्मचारीलाई खर्चस्वरूप बोनस पनि दिने गरेका छन् । त्यस्तो रकम पूँजीबजारमा लगानी गरेमा भविष्यमा राम्रो प्रतिफल पाउन सकिन्छ ।
दक्षिणाले शेयरमा लगानी
दशैंमा आफूभन्दा ठूलाबडा, मान्यजनले टीका र जमरा लगाउँदै दक्षिणा दिने चलन छ । दशैंमा जम्मा भएको दक्षिणा र दशैं खर्च जोगाएर कुनै राम्रो कम्पनीको शेयरमा लगानी गरियो भने भविष्यमा त्यसले राम्रो प्रतिफल दिन्छ । जम्मा भएको रकमले दोस्रो बजारको महँगो शेयर त किन्न नसकिएला, आईपीओ, म्युचुअल फण्डहरूमा भने लगानी गर्न सकिन्छ । हाल बजार घटेर १ हजार २ सय १८ देखि २५ बिन्दुको हाराहारीमा आइपुगेको छ । यस्तो अवस्थामा रू. २ सयदेखि २ सय ५० सम्म पर्ने कम्पनीको शेयर खरीद गर्न सकिन्छ । पूँजीबजारमा आबद्ध भएका लगानीकर्ताले दशैंको अवसर पारेर आफ्नो छोराछोरीको नाममा भविष्यका लागि शेयर उपहार दिने प्रचलन पनि आएको छ ।
हालसम्म कुनै पनि वाणिज्य बैङ्कहरूले लाभांश घोषणा नगरेकाले र बजार निकै तल भएकाले राम्रा कम्पनीको सस्तोमा शेयर किन्न पाइन्छ । दशैंको खर्च जोगाएर र दक्षिणाले किनेको शेयर भोलि लाभांश पाउँदा र दोस्रो बजारमा मूल्य बढ्दै गएपछि सोचेको भन्दा पनी बढी नाफा पाउन सकिन्छ । हामीहरू दशैं मनाउन तास, कौडा, लङ्गुरबुर्जालगायत खेलमा पैसा उडाइरहेका हुन्छौं । त्यसरी मजाका लागि सक्ने रकम लगानी गरे आपत्कालीन अवस्थामा सहयोग मिल्छ ।
दशैं खर्चको बचत शेयरमा लगाऔं
बालकृष्ण प्रजापति
लगानीकर्ता
आर्थिक समृद्धिका लागि सबैभन्दा पहिले पूँजीको आवश्यकता पर्दछ । हामी जसरी असारमा माना रोपेर मङ्सिरमा पाथी फलाउँछौं, त्यसैगरी वर्तमानको सानो रकमको बचत परिचालनबाट भविष्यमा आर्थिक सङ्कट समाधान गर्न सम्भव हुन्छ । निश्चय पनि अहिले बढ्दो महँगीका कारण विशेषगरी न्यून तथा मध्यम आयस्तरका जनताको जीवनस्तर निकै कष्टकर भइरहेको छ । आफ्नो आयबाट आधारभूत आवश्यकताको परिपूर्ति गरी बचत गर्न गाह्रो छ । त्यसमा अहिले दशैं शुरू भइसकेको छ भने अन्य चाडपर्वहरू नजिकिँदै छन् । यी चाडमा हाम्रो खर्च अन्य समयको तुलनामा अत्यधिक हुने गर्दछ । खाना, लत्ताकपडा, मनोरञ्जन आदिमा हुने खर्चका कारण धेरैका लागि दशैंं दशा पनि नबनेको होइन । तथापि, खर्चमा थोरै मात्र मितव्ययिता अपनाउन सके वा थोरै आत्मसंयम अपनाउन सकेमा अनावश्यक खर्चलाई बचतमा रूपान्तरण गरी लगानीको शुरुआत गर्न सकिन्छ । अरूको देखासिकीमा नलागौं, अत्यावश्यक ठाउँमा बाहेक खर्च नगरौं । साथै, आफ्ना सन्नतिलाई दक्षिणास्वरूप दिएको रकम सङ्कलन गरेर राम्रो आर्थिक अवस्था भएका कम्पनीको शेयर खरीद गरेर लगानीको शुरुआत गरौं ।
विविध कारणले अहिले नेप्सेमा सूचीकृत अधिकांश कम्पनीको शेयरमूल्य निकै कम छ । कुनै–कुनै कम्पनीको शेयरमूल्य त आधार मूल्य वा सोभन्दा कम समेत भइसकेको छ । साथै, विभिन्न नयाँ कम्पनीको प्राथमिक शेयर र एफपीओ निष्कासन हुने क्रम जारी छ । नयाँ लगानीकर्ताका लागि यो सुनौलो अवसर हो । अहिले वाणिज्य बैङक, बीमा कम्पनी तथा अन्य थुप्रै कम्पनीको गत आवको मुनाफाबाट लाभांश घोषणाको समय नजिकिँदै छ । अहिलेको लगानीबाट थोरै समयमा ती कम्पनीको लाभांशको हकदार बन्न सकिन्छ । बैङ्क तथा सहकारीमा बचत गर्दा ब्याज प्राप्त गर्न जति समय लाग्छ, त्योभन्दा कम समयमै उच्चतम आर्थिक लाभ शेयरमा लगानी गरेर प्राप्त गर्न सकिन्छ । यसका लागि तुलनात्मक रूपमा नाफा, प्रतिशेयर आय, नेटवर्थ, जगेडा कोष, व्यवसाय वृद्धिदर उच्च भएका र विगतदेखि निरन्तर रूपमा उचित लाभांश वितरण गरेका तथा निष्क्रिय कर्जा, मूल्य आम्दानी अनुपात न्यून भएका कम्पनीलाई प्राथमिकता दिनुपर्दछ । नेपालको शेयर बजार विगतको तुलनामा निकै सुधार भइसकेको र विकासको क्रम जारी रहेको छ । त्यसो हुँदा अबको केही समयभित्र नै स्वर्णिम युग शुरू हुने आशा गर्न सकिन्छ । अहिले प्राथमिक शेयरमा विगतको तुलनामा आमूल परिवर्तन आइसकेको छ ।
फजुल खर्च घटाएर शेयरमा लगाउनुहोस्
कमल पन्थी
लगानीकर्ता
दशैं, तिहार, छठजस्ता पर्वहरू नेपालीको घरआँगनमा भित्रिसकेका छन् । विदेश तथा स्वदेशमा रहनु भएका सबै नेपाली आफ्नो गाउँघरमा पर्किने क्रम बढ्दै गएको छ । नेपालीमा हर्षोल्लाह बढ्दै गएको छ । दशैंमा नेपालीले आफूभन्दा ठूला, मान्यजनसँग खुशी साटासाट गर्दछन् । यो पर्वमा अन्य पर्वमा भन्दा बढी खर्च र रमाइलो गरिन्छ । उहिलेका हजुरबुबा/आमाले भन्नुहुन्थ्यो, ‘आयो दशैं ढोलक बजाई, गयो दशैं ऋण बोकाइ ।’ यो उखान आजसम्म पनि उत्तिकै सान्दर्भिक छ । त्यसैले, आ–आफ्नो दक्षता, क्षमताअनुसार दशैं मनाउनु पर्दछ । अरूको देखासिकी गरेर, ऋण लिएर दशैं मनाउँदा छोटो समयका लागि रमाइलो भए तापनि पछुताउनुपर्ने अवस्था आउन सक्छ ।
दशैंमा सबै नेपालीले नयाँ लत्ताकपडा, मीठा परिकार, माछामासुलगायत वस्तुको प्रयोग÷उपभोग धेरै गर्छन् । दशैंले समाजमा विकृति पनि देखापरेका छन् । दशैंमा जुवातास खेल्ने, जाँडरक्सी खाने प्रवृत्ति धेरै छ । यस्तो क्षेत्रमा पैसा खर्च गर्नुभन्दा शेयर बजार क्षेत्रमा लगानी गरे आम्दानीको अर्को बाटो खुल्छ । यो क्षेत्रमा धेरै लगानी चाहिँदैन, हजार रुपैयाँबाटै शुरुआत गर्न सकिन्छ । दशैंको फजुल खर्च कम गरेर शेयर बजारमा लगानी गर्नुहोस् । आफ्ना स–साना छोराछोरीको दक्षिणा जम्मा गरेर त्यो पैसा शेयर बजारमा लगानी गरिदिनुहोस्, भविष्यमा राम्रो प्रतिफल आउन सक्छ ।

