काठमाडौं । दशैं र तिहारजस्ता चाडपर्व नजिकिएसँगै विद्युतीय सवारी (ईभी) र अन्य विद्युतीय सामग्रीको आयात बढेको छ । भन्सार विभागले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) २०८१/८२ को साउन र भदौको तथ्यांकले यी वस्तुको आयात बढेको देखाएको हो । चालू आवको पहिलो २ महीनामा ४ अर्ब २७ करोड ८९ लाख ६५ हजार रुपैयाँको ४ हजार ८१८ थान विद्युतीय (गाडी) तीनपांग्रे, कार, जीपलगायत आयात भएका छन् ।
गत आवको तुलनामा अहिलेको आयात करीब १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा यी वस्तुको आयात २ अर्ब ६३ करोड ५ लाख २२ हजार रुपैयाँ बराबर थियो । उक्त मूल्यमा २ हजार ७३१ थान ईभी आयात भएको थियो । पछिल्लो समय सरकारले ईभीमा भन्सार छूट दिएकाले नेपालमा यसको आयात बढ्दै गएको व्यवसायी बताउँछन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष कृष्ण दुलालले सरकारले पछिल्लो समय ईभीमा दिएको भन्सार छूटका कारण आयात बढेको बताए ।
‘उपभोक्ताको आकर्षणसमेत ईभीतर्फ बढिरहेको छ । दशैं, तिहारलाई लक्ष्य गर्दै गत भदौमा सम्पन्न नाडा अटो शोमा बुकिङ भएका सवारीसाधनमा करीब ७० प्रतिशत ईभी नै थिए । सरकारले दिएको भन्सार छूटका साथै ईभीप्रति उपभोक्ताको आकर्षणसमेत बढी भएकाले पछिल्लो समय विगत वर्षहरूका तुलनामा नेपालमा ईभी आयात बढ्दो छ,’ उनले भने । चालू आवको सोही अवधिमा ल्यापटप/नोटबुकको समेत आयात बढेको विभागको तथ्यांकले देखाउँछ । भदौ मसान्तसम्म १ अर्ब ७९ करोड ६१ लाख ३५ हजार रुपैयाँ बराबरको २६ हजार ६३३ थान ल्यापटप/नोटबुक आयात भएको छ ।
गत आवको सोही अवधिमा १ अर्ब ४४ करोड १६ लाख ७ हजार रुपैयाँ मूल्यको २२ हजार ३७८ थान ल्यापटप/नोटबुक आयात भएको थियो । विभागको तथ्यांकअनुसार स्मार्टफोन आयातसमेत बढेको छ । गत आवको पहिलो २ महीनामा ५ अर्ब ३६ करोड ५२ लाख ११ हजार रुपैयाँको ३ लाख ६६ हजार ४८१ थान स्मार्टफोन आयात भएकोमा चालू आवको सोही अवधिमा ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार रुपैयाँ बराबरको ४ लाख ५४ हजार ९५८ थान आयात भएको छ । ‘अहिले सबैजसो बिल भुक्तानी मोबाइलबाटै गर्ने, अनलाइन कक्षा लिने, फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा आम मानिसको पहुँच बढेका कारण हरेकले स्मार्टफोन बोक्ने गर्छन् ।
त्यसैले पनि यस्ता वस्तुको आयात दिन प्रतिदिन बढ्दै गएको हो,’ मोबाइल फोन इम्पोटर्स एशोसिएशनका सचिवालय अध्यक्ष कैलाश प्रधानले भने । प्रधानका अनुसार दशैं, तिहारजस्ता चाडपर्वको समयमा मानिशहरूमा यस्ता वस्तु नयाँ किन्ने मनसाय पनि हुन्छ । त्यसकारण यो बेला यी वस्तुको माग बढनाले आयात बढेको हो । पछिल्लो समय विशेषगरी ठूलो स्क्रिन भएका र ह्याङ नहुने साथै लामो समय नतात्ने स्मार्टफोनको माग बढ्दो रहेको व्यवसायी बताउँछन् ।
विद्युतीय सामग्रीमध्ये साउन र भदौमा आयात बढेको पाइएको अर्को वस्तु इन्डक्शन चूल्होे र राइसकुकर पनि हो । गत आवमा ११ करोड १७ लाख २८ हजार रुपैयाँको ६० हजार १६० थान इन्डक्शन चूल्हो र राइसकुकर आयात भएको थियो । तर, चालू आवमा १७ करोड ४० लाख १० हजार रुपैयाँको १ लाख २४५ थान इन्डक्शन चूल्हो र राइसकुकर आयात भएको छ ।
पछिल्लो समय विशेष गरी गृहणीको आकर्षण ग्यासमा भन्दा इन्डक्शन चूल्होमा रहेकाले यस्ता वस्तुको आयात बढेको नेपाल विद्युतीय व्यवसायी संघका अध्यक्ष सुदर्शन पौडेलले बताए । उनका अनुसार सरकारले ग्यास खपत कम गर्न विद्युतीय चूल्होको खपत बढाउने भनेकाले पनि बिजुलीबाट खाना पकाउने सामग्रीको आयात बढेको हो । भारतले २०७२ मा नाकाबन्दी गरेपछि सरकारले इन्धनभन्दा विद्युतीय चूल्होमा बढी जोड दिएको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को बजेटमार्फत सिंहदरबारभित्र खाना पकाउने ग्यास निषेधसमेत गरेका थिए ।