काठमाडौं । दशैंपछिको पहिलो कारोबार दिन मंगलवार धितोपत्र दोस्रो बजार बढेर बन्द भएको छ ।
असोज २३ गते २ हजार ६६८ दशमलव १७ विन्दुमा बन्द भएको बजार असोज २९ गते मंगलवार १ दशमलव १७ प्रतिशत अर्थात ३१ द्यशमलव ४८ अंक बढेर २ हजार ६९९ दशमलव ६६ विन्दुमा बन्द भएको हो ।यो दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा कम भएको छ ।
अघिल्लो कारोबार दिन ३ अर्ब ७६ करोड १५ लाख रुपैयाँभन्दा बढीको ८३ लाख १२ हजार ६८५ कित्ता धितोपत्र कारोबार भएकोमा मंगलवार ३ अर्ब ६ करोड २३ लाख रुपैयाँभन्दा बढीको ६४ लाख १७ हजार २६७ कित्ता धितोपत्र कारोबार भएको हो ।
मंगलवारबाट सबै निकायको सेवा सुचारु भएपनि दशैको माहोल अर्थात टिका जारी रहेकाले बजारमा लगानीकर्ता पूर्ण रुपमा सक्रिय नभएको अनुमान ब्रोकरहरूको छ । यस वर्ष विगतका वर्षजस्तो सबैमा दशैंको उत्साह बाढी पहिरोका कारण नभएकाले पनि केहि दशैं खर्चका रकम बजारमा भित्रिएको ब्रोकरहरू बताउँछन् ।
यस वर्ष लाभांश गत वर्षको जस्तो नहुने र धेरै कम्पनीले लाभांश वितरण गर्ने आशामा लगानीकर्ता रहेको जानकारी दिदैं ब्रोकरहरू केहि समय बजारमा सकारात्मक प्रभाव पर्ने सम्भावनालाई पनि औल्याउछन् ।मंगलवार कुल कारोबारमा गुडवील फाइनान्सको सर्वाधिक हिस्सा रहेको छ ।
दिनभरको कारोबारमा यस कम्पनीको शेयर माग पनि सर्वाधिक देखिएको थियो । उच्च मागकाबीच यस दिन गुडवील फाइनान्सको १८ करोड ५ लाख १ हजार रुपैयाँभन्दा बढीको १ लाख ६८ हजार ७६६ कित्ता शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनभन्दा प्रतिकित्ता १५ रुपैयाँले बढेर अन्तिम मूल्य १ हजार ७७ रुपैयाँ कायम भएको छ ।
बढेको बजारमा ३०७ कम्पनीको धितोपत्र कारोबार भएकोमा जानकी फाइनान्स र मिथिला लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ भने मल्टिपर्पस फाइनान्सको शेयरमूल्य ९ दशमलव ३२ प्रतिशतले बृद्धि भएको छ ।
जानकी फाइनान्सको शेयरमूल्य यो दिन प्रतिकित्ता ६१ रुपैयाँ ६० पैसाले बढेर अन्तिम मूल्य ६७७ रुपैयाँ ६० पैसा र मिथिला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता १५८ रुपैयाँले बढेर अन्तिम मूल्य १ हजार ७३८ रुपैयाँ कायम भएको छ ।मल्टिपर्पस फाइनान्सको शेयरमूल्य भने यो दिन प्रतिकित्ता ६४ रुपैयाँ ८० पैसाले बढेर अन्तिम मूल्य ७५९ रुपैयाँ ८० पैसा कायम भएको छ ।
यी कम्पनीसँगै मंगलवार २०५ कम्पनीको धितोपत्र मूल्य बढेको छ । यो दिन मिड सोलु हाइड्रोपावरको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । अघिल्लो कारोबार दिनभन्दा १० प्रतिशत अर्थात प्रतिकित्ता ११४ रुपैयाँ १० पैसाले मूल्य घटेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार २६ रुपैयाँ ९० पैसा कायम भएको हो ।
मंगलवार एकै दिन धितोपत्र दोस्रो बजारको पूँजीकरण ५० अर्ब ६ करोड रुपैयाँभन्दा बढीले बृद्धि भएको छ । अघिल्लो कारोबार दिन ४२ खर्ब ४२ अर्ब ६६ करोड २२ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण मंगलवार ४२ खर्ब ९२ अर्ब ७२ करोड ४७ लाख रुपैयाँभन्दा बढी कायम भएको हो ।मंगलवार उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव २२ प्रतिशत घटेको छ भने बाँकी समूहको बढेको छ ।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ४ दशमलव ६१ प्रतिशत बढ्दा बैंकिङको १ दशमलव ५९ प्रतिशत, विकास बैंकको १ दशमलव ५६ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ८० प्रतिशत, जलविद्युतको शून्य दशमलव ७२ प्रतिशत, लगानीको १ दशमलव ५२ प्रतिशत, जीवन बीमाको १ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७२ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव २३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५१ प्रतिशत, अन्यको १ दशमलव २१ प्रतिशत र व्यापारिकको १ दशमलव ७६ प्रतिशत परिसूचक बढेको छ ।