काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले हाल कायम चुक्तापूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
सो प्रस्ताव पारित गर्न कम्पनीले यही पुस २७ गते साधारण सभा बोलाएको छ । कम्पनीले दाङको घोराही उपमहानगरापलिका वडा नं. १५, भरतपुरमा अवस्थित होटल पौवामा बिहान ९ बजे साधारण सभा बोलाएको हो ।
सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरू कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।