ह्नोई (भियतनाम) । भियतनामका राष्ट्रपति भो भान थुङले कार्यकालको एक वर्षमै राजीनामा दिएका छन् । दशकअघिको भ्रष्टाचार काण्डमा मुछिएपछि कार्यकाल सकिन दुई वर्ष बाँकी छँदै उनले पदबाट राजीनामा दिएका हुन् । उनले गत वर्षको मार्च २ मा राष्ट्रपति पदको शपथ लिएका थिए ।
एक दशकअघिको कथित भ्रष्टाचारको आरोपमा देशको मध्य क्षेत्रको क्वांग नगाई प्रान्तका एक पूर्वप्रमुख केही दिनअघि पक्राउ परेपछि उनले पद छाडेका हुन् । त्यतिबेला थुङ पार्टी प्रमुख थिए ।
सत्तारुढ कम्युनिष्ट पार्टीले जारी गरेको एक बयानमा नियम उल्लंघन र अन्य कमजोरीका कारण राष्ट्रपति थुङले राजीनामा दिएको उल्लेख छ ।
भ्रष्टाचारविरुद्धको कारबाहीका बीच राष्ट्रपति थुङसँगै उच्च पदस्त नेताहरूले पनि राजीनामा दिएको बताइएको छ । यो कारबाहीका क्रममा सयौं सरकारी अधिकारी पक्राउसमेत परेका छन् ।
यसअघिका राष्ट्रपति गुएन सुआन फुक पनि भ्रष्टाचार काण्डमा मुछिएका थिए, जसका कारण उनले कार्यकालको दुई वर्ष नपुग्दै पदबाट राजीनामा दिएका थिए । २०२१ अप्रिल ५ मा राष्ट्रपति नियुक्त भएका उनले २०२३ जनवरीमा राजीनामा दिएका थिए ।
कम्युनिष्ट पार्टीका महासचिव न्गुएन फु ट्रोङले भ्रष्टाचार उन्मुलन अभियानको नेतृत्व लिएका छन् । एक दलीय देश भियतनाममा कम्युनिष्ट पार्टीको महासचिव राष्ट्रपतिभन्दा शक्तिशाली पद हो ।
आलोचकले भने उक्त अभियानले महासचिव ट्रोङका राजनीतिक प्रतिद्वन्द्वीलाई निशाना बनाएको आरोप लगाएका छन् । उक्त अभियानका क्रममा दुई उपप्रधानमन्त्रीको पनि बिदाइ गरिएको छ । एजेन्सी