काठमाडौं । गत अर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा दुई हाइड्रोपावर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत ८७ ओटा हाइड्रोपावर कम्पनीमध्ये सानिमा माई हाइड्रोपावर र माण्डु हाइड्रोपावर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका हुन ।
सानिमा माई हाइड्रोपावरले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक २३ गते साधारण सभा बोलाएको छ । सेलिब्रेसन हाईट सुकधारा काठमाडौंमा बिहान ११ बजे साधारण सभा शुरु हुने कम्पनीले जानकारी दिएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज २४ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा असोज २३ गते सम्म कायम शेयरधनील्े साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।
त्यस्तै माण्डु हाइड्रोपावरले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीबाट कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव पारितका लागि मंसिर १५ गते साधारण सभा बोलाएको छ । सभा छाँया सेन्टर ठमेल काठमाडौंमा बिहान १० बजे बोलाएको हो ।
उक्त लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर ४ गते बुक क्लाजे गरेको छ । यस बुक क्लोजको आधारमा तिहारको सार्वजनिक विदाका कारण कात्तिक २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।