काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । नेपाल एसबिआई बैंक र तारागाउँ रिजेन्सी होटल्सको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम दिन रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीले पुस ७ गते बुक क्लोज गर्दैछन् । यस आधारमा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले यी कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेपाल एसबिआई बैंकले यही पुस २१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा ३१ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ३ दशमलव ८० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६ दशमलव ८५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पातिर गर्नेछ ।
यसका साथै सभाले मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
त्यसैगरी, तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले यही पुस २४ गते नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा २८ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ११ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने, सर्वसाधारण शेयरधनीहरूको प्रतिनिधित्व गर्ने १ सञ्चालकको नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।