काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट दुईओटा म्युचुअल फण्डले थप इकाईहरू विक्रीका लागि स्वीकृति पाएका छन् । सेबोनले एनआईबिएल सहभागिता फण्ड र सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमलाई थप इकाई विक्रीको स्वीकृति प्रदान गरेको हो ।
एनआईबिएल सहभागिता फण्ड’ एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना हो । यो योजनाको कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेण्ट मेगा बैंक र योजना व्यवस्थापकमा एनआईएमबि एस क्यापिटल छ ।
यो योजनाले धितोपत्र बोर्डबाट थप १ अर्बको इकाईहरू विक्रीको अनुमति पाएको छ। यो हिसाबले अब यस योजनाले १० रुपैयाँ अंकित दरका थप १० करोड इकाई बिक्री गर्नेछ ।
यसैगरी सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम धितोपत्र बोर्डबाट थप ५० करोड रुपैयाँ बराबरको इकाई विक्री गर्ने अनुमति पाएको छ । अब यो योजनाले १० रुपैयाँ अंकित दरका थप ५ करोड इकाई विक्री गर्नेछ ।
सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल र कोष प्रवर्द्धकमा सिद्धार्थ बैंक छन् ।