दुई सहकारीलाई मात्र सरकारी कार्यक्रम
वैशाख ११, धनगढी (अस) । कैलालीका ५९ ओटा कृषि सहकारीमध्ये चालू आवमा दुईओटाले मात्रै सरकारी कार्यक्रम पाएका छन् । केन्द्रबाट न्यून बजेट विनियोजन भएकाले अन्य कृषि सहकारीहरूलाई कार्यक्रम दिन नसकिएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत लोकराज उपाध्यायले बताए ।
‘सरकारले यस वर्ष जिल्लामा ‘सहकारी खेती स्कीम योजना र सहकारीमा आधारित साना सिँचाइ योजना’ गरी दुईओटा शीर्षकमा रू. ७ लाख मात्रै विनियोजन गरेको थियो,’ उनले भने । दुवै शीर्षकमा क्रमशः ४ लाख १५ हजार रुपैयाँ र २ लाख ८५ लाख रुपैयाँ विनियोजित भएको थियो । सहकारी खेती स्कीम योजनाका लागि यस वर्ष सूर्यमुखी कृषि सहकारी संस्था लिमिटेड छनोटमा परेको छ । यस्तै, सहकारीमा आधारित साना सिँचाइ योजनाको कार्यक्रम जनकल्याण कृषि सहकारी संस्थाले पाएको उपाध्यायले बताए ।
साना सिँचाइ योजनाबाट २ सय र सहकारी खेतीबाट ३ सय घरधुरी लाभान्वित हुने कृषि विकास कार्यालय कैलालीले बताएको छ । ‘चालू आवमा दुवै कार्यक्रमका लागि ३ दर्जन कृषि सहकारीको निवेदन परेको थियो,’ उपाध्यायले भने, ‘कार्यक्रमहरूको प्राथमिकता र सूचकहरूले दुईओटामात्रै छनोटमा परे ।’ गत आवमा सरकारले साना सिँचाइ कार्यक्रमका लागि ११ लाख ५७ हजार रुपैयाँ विनियोजन गरेको थियो । यसबाट जिल्लाका २२ कृषि सहकारीले कार्यक्रम पाएका थिए । गत आवमा सहकारी खेती कार्यक्रममा मात्र रू. ८ लाख ६५ हजार बजेट निकासा गरिएको थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.