काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको फागुन १८ गतेदेखि २३ गतेसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामको ऋणपत्र चैत १ गते शुक्रबार बाँडफाँट गरेको हो ।
प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । कुल कित्ता ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थामा र ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो । सर्वसाधारणतर्फको शेयर मध्ये पनि विक्री ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको हो ।
यो ऋणपत्र विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड रहेको छ । यस ऋणपत्रमा आर्जित ब्याजमा आयकर ऐन अनुसार प्राकृतिक व्यक्तिमा ६ प्रतिशत र अन्य व्यक्तिलाई १५ प्रतिशत कर लाग्ने समेत बैंकले जानकारी दिएको छ ।