काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको फागुन १८ गतेदेखि निष्कासनमा आएको ऋणपत्र आजसम्म मात्र निष्कासनमा रहने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामको ऋणपत्र निष्कासन गरेको हो ।
प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको बैंकले छिटो अवधि फागुन २१ गतेसम्म मागबमोजिम आवेदन प्राप्त नभएपछि ढिलो अवधि चैत ३ गतेसम्म विक्री गर्ने बताएको थियो । मागभन्दा बढी आवेदन पर्न आएकाले फागुन २३ गतेसम्म विक्री खुला गर्न लागेको जानकारी कम्पनीले दिएको छ ।
कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थामा विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।
सर्वसाधारणमा विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी रहने ११ लाख ४० हजार कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासनमा आएको हो ।
यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा आर्जित ब्याजमा आयकर ऐन अनुसार प्राकृतिक व्यक्तिमा ६ प्रतिशत र अन्य व्यक्तिलाई १५ प्रतिशत कर लाग्ने समेत बैंकले उल्लेख गरेको छ ।