काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि ऋणपत्र निष्कासन गरेको ऋणपत्र चैत ३ गतेसम्म विक्रीमा रहने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ निष्कासन गरेको हो ।
प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको बैंकले छिटो अवधि फागुन २१ गतेसम्म माग बमोजिम आवेदन प्राप्त नभएपछि ढिलो अवधि चैत ३ गतेसम्म विक्री खुला गर्ने जानकारी दिएको हो । यस अवधिभित्र माग बमोजिम आवेदन प्राप्त भएमा जुन कुनै दिन विक्री बन्द गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
कुल कित्ता ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थामा विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ । सर्वसाधारणमा विक्री गरिने ऋणपत्र मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी रहने ११ लाख ४० हजार कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासनमा आएको हो ।
यो ऋणपत्र खरिदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाइन मार्फत समेत आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । बैंकले ऋणपत्रका लागि तोकिएको ब्याज अर्धवार्षिक रुपमा कर कट्टा गरी भुक्तानी गर्ने जानकारी दिएको छ । यस ऋणपत्रमा आर्जित ब्याजमा आयकर ऐन अनुसार प्राकृतिक व्यक्तिमा ६ प्रतिशत र अन्य व्यक्तिलाई १५ प्रतिशत कर लाग्ने समेत बैंकले उल्लेख गरेको छ ।