काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा मंगलवारदेखि ‘ईबिएल भर्चुअल क्रेडिट कार्ड’ सेवाको शुरुआत गरेको छ ।
ईबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो ।
बैंकका ग्राहकले न्यूनतम मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्नेछन् । सो सेवामार्फत न्यूनतम रू. ५० हजारदेखि अधिकतम रू. ५ लाखसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यूआर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन तथा कार्ड व्यवस्थापन कार्य सजिलै गर्न सक्ने बताइएको छ ।
यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् । साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।