काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आज (चैत २५ गते) देखि ऋणपत्र निष्कासन गरेको छ । कम्पनीले १० वर्षे अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर उल्लेख गरेर ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ नामको ऋणपत्र निष्कासन गरेको हो । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र कम्पनीले विक्री गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने कम्पनीको भनाई छ । बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री हुनेछ । सर्वसाधारणमा बाँडफाँट हुने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २५ लाख कित्तासम्म माग गर्न सकिनेछ ।
यो ऋणपत्र छिटोमा चैत २८ गतेसम्म निष्कासनमा रहनेछ भने ढिलोमा २०८२ बैशाख ८ गते हुनेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनको सम्पूर्ण कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईनबाट पनि आवेदन दिन सकिनेछ ।