काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गोर्खा होटल, धरान, सुनसरीमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
कात्तिक १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा करसमेत १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ ।
कम्पनीले गत वर्षभन्दा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १४ दशमलव ७५ प्रतिशत करसमेत नगद लाभांश वितरण गरेको थियो । त्यसअघिको वर्ष भने कम्पनीले करसमेत ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यी प्रस्तावसँगै संस्थापक समूहबाट एक जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने प्रस्ताव गर्दै कम्पनीले उक्त कार्यका लागि सभामार्फत सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मङ्सिर २४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।