काठमाडौं । 'ग्लोबल मनी वीक २०२५' को अवसरमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले 'थिङ्क बिफोर यु फलो, वाइज मनी टुमोरो' नाराका साथ देशभरि विभिन्न कार्यक्रम गरि मनाएको छ ।
यस अवसरमा संस्थाले ६ ओटै प्रदेशका १४ स्थानीय शाखाहरूमा वित्तीय साक्षरता, सचेतना र्याली, तालिम, तथा सहभागीहरूसँग संवाद जस्ता गतिविधिहरू आयोजना गरेको थियो । जसमा ६०० भन्दा बढी सदस्य, कर्मचारी र अभिभावकहरूले ग्लोबल मनी विकको थीमलाई जीवन्त बनाएको लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।
लघुवित्तले लुम्बिनी प्रदेशअन्तर्गत लौन्डिहवा, भालुवाङ, गोरकट्टा, रामापुर, र देवदह शाखाहरूमा ४० देखि ६० जनासम्मको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम तथा र्याली सम्पन्न गरेको थियो । गण्डकी प्रदेशको कुस्मा, भानु र बन्दीपुर शाखामा प्रदेश प्रमुख अर्जुन कुमार पन्त, स्थानीय प्रतिनिधिहरू र ५५ जना सदस्यहरूको उपस्थितिमा कार्यक्रम आयोजना गरेको थियो ।
सुदूरपश्चिमको चप्परगौंडी, अत्तरिया र घोरबन्दा लगायतका शाखाहरूमा ४२ देखि ४९ जना सदस्यहरूले वित्तीय साक्षरतामा सहभागिता जनाएको लघुवित्तले जनाएको छ । कार्यक्रमहरूमा स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी, विद्यालय परिवार, होटल सञ्चालक र संस्थाका प्रदेश प्रमुखहरू उपस्थित थिए ।
संस्थाले सहभागीहरू, सहयोगी संस्थाहरू र स्थानीय निकायहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै आयोजनाका लागि हल उपलब्ध गराउने स्वर्गद्वारी प्राथमिक विद्यालय, शंकर आधारभूत विद्यालय र अतिथि होटेल जस्ता संस्थाहरूलाई कृतज्ञता व्यक्त गरेको छ । यसरी ग्लोबल मनी वीक २०२५ ले नेपालभरि वित्तीय साक्षरताको महत्त्वलाई प्रसारण गर्दै आम नागरिकलाई सावधानीपूर्वक आर्थिक निर्णय गर्न प्रेरित गरेको छ।