काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रैथाने बालीबाट उत्पादित वस्तुहरूको बजारीकरण गर्न साल्ट ट्रेडिङ कर्पोरेशनले महत्त्वपूर्ण योगदान दिएको बताएका छन् ।
सोमवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेशनको संयुक्त आयोजनामा आयोजित उपभोक्ता सुरक्षाबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अत्यावश्यक वस्तुको व्यापार र आपूर्तिमा साल्ट ट्रेडिङले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले बताए ।
उनले दशैं तिहार जस्ता चाडपर्वमा कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गरी आपूर्ति श्रृंखलालाई थप व्यवस्थित गराएको उनको भनाइ छ । यसले महँगी नियन्त्रणमा सहयोग पुगेको पनि उनले बताए ।
गत दशैंमा साल्ट ट्रेडिङले चिनीको आपूर्ति राम्रो गराएर सम्भावित अभाव हुन नदिएको उनको भनाइ छ ।