काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले माघ २४ गतेदेखि निष्कासनमा ल्याएको एनएमबि हाईब्रिड फण्ड एल–२ नामक योजनाको इकाई खरीद गर्ने आज अन्तिम दिन रहेको छ । क्यापिटलले एनएमबि म्युचुअल फण्डअन्तर्गत यो योजना सञ्चालन गर्न लागेको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना सञ्चालनका लागि क्यापिटलले १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याएको हो । यी इकाई छिटो अवधि माघ २८ गतेसम्म निष्कासनमा रहने मिति तय भएकोमा सो अवधिसम्म मागबमोजिम आवेदन नपरेपछि योजना व्यवस्थापकले ढिलो अवधि फागुन ८ गतेसम्मको मिति तय गरेको थियो । यो योजना सञ्चालनका लागि योजना व्यवस्थापकले प्रतिइकाई १० रुपैयाँ अंंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई जारी गर्न लागेको हो ।
१२ करोड इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्द्धक एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । यीबाहेक बाँकी रहेको १० करोड २० लाख इकाई भने सार्वजनिक निष्कासनमा ल्याइएको हो ।
आवेदन दिँदा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्न सकिनेछ । निष्कासन तथा विक्री प्रबन्धकको रूपमा रहेको एनएमबि क्यापिटल र आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन सकिनेछ ।