काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड इले मंसिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार फण्डले मंसिर मसान्तमा रू. १८ करोड ८८ लाख नाफा कमाएको छ । यो नाफा कात्तिक मसान्तको तुलनामा ४३ प्रतिशत कम हो । फण्डले कात्तिक मसान्तमा रू. ३३ करोड २१ लाख नाफा कमाएको थियो । मंसिरमा फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो ।
कात्तिक मसान्तमा फण्डको कुल आम्दानी रू. ३४ करोड ९० लाख रहेकोमा मंसिर मसान्तमा रू. २० करोड ९९ लाखमा सीमित भएको छ । नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि घटेको छ । कात्तिक मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ २८ पैसा रहेकोमा मंसिर मसान्तमा १० रुपैयाँ ७१ पैसामा सीमित भएको छ ।
फण्डले मंसिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २ अर्ब २५ करोड लगानी गरेको छ । यो लगानी कात्तिक मसान्तमा रू. २ अर्ब ३४ करोड थियो ।