काठमाडौं । कीर्तिपुरको क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा भाग लिएका टीम विभिन्न पाँचतारे होटेलमा बसेका कारण ती होटेलको व्यवसायलाई समेत यो टुर्नामेन्टले सहयोग पुगेको छ । एनपीएलमा सहभागी खेलाडी र तिनका प्रशिक्षक काठमाडौंका विभिन्न पाँचतारे स्तरका होटेलमा बसेका छन् ।
मङ्सिर १५ देखि कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा ८ फ्रेन्चाइज समूहबीच एनपीएल भइरहेको छ । आउँदो पुस ६ गतेसम्म चल्ने उक्त प्रतियोगिताका स्वदेशी, विदेशी खेलाडी र प्रशिक्षकको समूह ती होटेलमा बसेका छन् । काठमाडौंका पुरानामध्येका सोल्टी, याक एन्ड यतीदेखि नयाँ दुसित प्रिन्सेज काठमाडौं, हायात प्लेस र म्यारियट काठमाडौंमा तिनीहरू बसेका हुन् ।
एनपीएलसम्बद्ध एक अधिकारीका अनुसार हरेक होटेलमा २० देखि २५ जनाको समूह बसेको छ । यो बसाइ खेल अवधिभर हुनेछ । कतिपय खेलाडी र प्रशिक्षक भने एकाध दिन बढी पनि बस्न सक्ने उनको भनाइ छ ।
- ६ ओटा होटेलमा आठ टीमका खेलाडी तथा प्रशिक्षक
- तीन हप्ता बस्दा पाँचतारे होटेललाई राम्रो व्यापार
- शुरू भएको खेल पर्यटनको निरन्तरता हुनुपर्नेमा व्यवसायीको जोड
पर्यटकीय सिजनमध्येमा पर्ने गत नोभेम्बरमा १ लाख १४ हजार ५०१ पर्यटक नेपाल आएका छन् । तैपनि होटेलहरू अहिले कुल क्षमताको एक तिहाइमा मात्रै सञ्चालन भइरहेको व्यवसायी बताउँछन् । आठओटा फ्रेन्चाइजमध्ये पोखरा एभेन्जर्सको टोली सोल्टी होटेलमा बसेको छ ।
सोल्टी होटेलका उपाध्यक्ष सुदर्शन चापागाईंका अनुसार उक्त होटेलमा २५ ओटा रूम खेलाडी र प्रशिक्षकका लागि बुक गरिएको छ । यो बुक १९ दिनका लागि रहेको भन्दै उनले यसले अकुपेन्सीमा ठूलो अन्तर नहुने बताए । यद्यपि होटेलको व्यवसायमा केही फरक भने अवश्य पर्ने उनको भनाइ छ ।
काठमाडौं गुर्खाजले आफ्ना खेलाडीलाई होटल याक एन्ड यतीमा राखेको छ । ‘पाँचतारे होटेलमा राख्दा होटेलको लागत कति पर्छ अनुमान गर्न सकिन्छ,’ काठमाडौं गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटुवालले भने ।
होटेल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनायक शाह एनपीएलले होटेल व्यवसायमा सकारात्मक प्रभाव पार्ने बताउँछन् । मुलुकमै पहिलोपटक यसरी खेल हुँदा खेल पर्यटन (स्पोर्ट टुरिजम)को सम्भावना पनि खुला भएको उनको भनाइ छ । ‘खेल पर्यटनको राम्रो सम्भावना खुलेको छ,’ शाहले भने, ‘अहिले नेपालमा क्रिकेट रंगशाला पनि बन्दै आएका छन् भने क्रिकेटप्रेमीको जमात पनि बढेको छ ।’ भारत–पाकिस्तानको क्रिकेट प्रतियोगिता त स्वदेशमा नभएर अन्य देशमा पनि आयोजना हुने गरेका छन् ।
विदेशमा प्रतियोगिता आयोजना हुँदा खेलाडी मात्रै नभई क्रिकेटप्रेमी समेत त्यहाँ पुग्छन् । खेल पर्यटन बढाउन नेपालले क्रिकेट एशोसिएट्सका अन्य मुलुक र टेस्ट राष्ट्रका राष्ट्रिय टोली तथा अन्य क्रिकेट टीमसँग विभिन्न फम्र्याटका सिरिज गराइरहनुपर्ने शाहले बताए । ‘नेपालमा अहिले शुरू भएको छ,’ शाहले भने, ‘यसको सम्भावना नेपालमा पनि भएकाले यस्ता खेलको संख्या बढाउनु र यसलाई निरन्तरता दिनुपर्छ ।’
नेपालमा पनि अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र एशियाली क्रिकेट परिषद् (एसीसी) अन्तर्गतका लिग तथा छनोट खेलहरू हुँदै आएका छन् । कीर्तिपुर, मूलपानीका दुईओटा क्रिकेट रंगशाला र निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला र पोखराको रंगशाला र रूपन्देहीस्थित एक्ट्रा टेक ओभल क्रिकेट रंगशाला खेल गराउन तयार छन् ।
राज्यले यी क्रिकेट रंगशाला तयार गर्न अर्बाैं लगानी गरिसकेको छ । अन्तरराष्ट्रिय स्तरमा हुने क्रिकेट खेल नेपालले पनि गराउन सके होटेल व्यवसायदेखि अन्य स्थानीय व्यवसायमा सहयोग पुग्ने सम्बद्ध व्यवसायी बताउँछन् । होटेलको अकुपेन्सीभन्दा पनि अहिले राम्रो शुरुआत भएको मान्नुपर्ने भन्दै शाहले यसको प्रभाव बहुआयामिक हुने बताए ।
काठमाडौं म्यारियट होटेलका सञ्चालक तथा एभरेस्ट हस्पिटालिटीका अध्यक्ष शशिकान्त अग्रवालले एनपीएलले होटेलको व्यापारमा सहयोग पुगेको र अन्य आर्थिक गतिविधिमा समेत सघाएको बताए । ‘धेरै पहिला गर्नुपर्ने यस्तो खेल अहिले गरिएको छ,’ अग्रवालले भने, ‘खेल पर्यटनको ढोका खुलेको छ, नेपालले अन्य अन्तरराष्ट्रिय खेलभन्दा पनि भारतको इन्डियन प्रिमियर लिग (आईपीएल)को एउटा खेलमात्रै ल्याउन सके पनि त्यसले अर्थतन्त्र नै चलायमान बनाउँछ ।’ नेपालले एउटा राम्रो स्टेडियममा यस्ता खेल गराउन सके खेल पर्यटन मात्रै नभई सिंगो अर्थतन्त्रमै उभार आउने उनको तर्क छ ।
क्रिकेट खेलाडी टोलीमात्रै होटेलमा बसेका छैनन्, खेलसम्बद्ध अन्य कार्यक्रम पनि पाँचतारे होटेलहरूमै आयोजना भइरहेका छन् । आइतवार मात्रै एनसेल र लुम्बिनी लायन्स टिमबीचको प्रायोजन सम्झौता नक्सालस्थित काठमाडौं हिल्टन होटेलमा सम्पन्न भएको छ ।