काठमाडौं । युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी (इएएसए) ले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए) माथि यूरोपमा उडान गर्न लगाइएको चार वर्ष लामो प्रतिबन्ध हटाएको छ। यो प्रतिबन्ध मे २०२० मा लाहोरदेखि कराँची जाँदै गरेको फ्लाइट ८३०३ को दुर्घटनापछि लगाइएको थियो । जसमा ९७ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनापछि धेरै पाकिस्तानी पाइलटहरूको लाइसेन्सको वैधताबारे प्रश्न उठाइएको थियो। जसमा पीआइएका केही पाइलटहरू पनि थिए। प्रतिबन्धपछि, पीआइएले युरोपेली देशहरू र बेलायतमा सीमित सेवाहरू सञ्चालन गर्न वेट-लिज विमान प्रयोग गरेको थियो।
इएएसए ले नोभेम्बर २९ मा पाकिस्तान नागरिक उड्डयन प्राधिकरण ( पीसीएए ) को अनुगमन क्षमतामा पर्याप्त विश्वास गर्न सकिने देखिएको उल्लेख गरेको छ । यसैले पीआइए लाई युरोपेली संघभित्र व्यावसायिक हवाई यातायात सञ्चालन गर्न अनुमति दिइएको छ । बेलायतको नागरिक उड्डयन प्राधिकरणले भने इएएसए को कदमका बारेमा कुनै टिप्पणी गरेको छैन। जसको कारण बेलायतमा उडान गर्न पाउने वा नपाउने भन्ने अझै स्पष्ट भएको छैन ।
इएएसएले एक वक्तव्यमा प्रतिबन्ध हटाउन २०२० देखि शुरू भएको लामो प्रक्रियाको अन्त्य भएको बताएको छ। यस प्रक्रियामा पीसीएएको अनुगमन क्षमता स्वीकृत स्तरभन्दा तल पाइएको थियो। एजेन्सीले पीसीएएसँगको निरन्तर संवाद र २०२३ को नोभेम्बरमा पाकिस्तानमा गरिएको साइट मूल्याङ्कनलाई निर्णयको प्रमुख आधार मानेको छ।
यो निर्णयलाई पाकिस्तानका उड्डयन मन्त्री ख्वाजा आसिफले स्वागत गरेका छन्। उनले यसलाई पाकिस्तानी एयरलाइन्स र उड्डयन उद्योगका लागि ठूलो उपलब्धि भनेका छन्। मन्त्रीले आफ्नो एक्स एकाउण्टमा लेख्दै, "धेरै वर्षको संघर्ष र मेहनतपछि उड्डयन मन्त्रालय र नागरिक उड्डयनले युरोपेली संघबाट अनुमति पाउन आवश्यक सबै मापदण्ड र अडिट आवश्यकताहरू पूरा गरेका छन," भनेका छन् ।
उनले युरोपेली संघले अर्को पाकिस्तानी वायुसेवा एयर ब्लूलाई पनि युरोप उडान गर्न अनुमति दिएको बताएका छन् । महामारी र फ्लाइट ८३०३ दुर्घटनापूर्व पीआइएले युरोपेली संघ र बेलायतका गन्तव्यका १७ रुटहरूमा उडान सञ्चालन गर्ने गरेको थियो । जसमा बार्सिलोना, बर्मिंघम, लन्डन हिथ्रो, म्यानचेस्टर, कोपेनहेगन, मिलान माल्पेन्सा, ओस्लो, र पेरिस चार्ल्स डे गउल जस्ता स्थान समेत थिए।
२०२० को शुरुवातमा, पीआइएले करिब ३४ राउन्डट्रिप उडानहरू सञ्चालन गर्थ्यो । जसमा करिब २३ हजार ३० दुई-तर्फी सिटहरू उपलब्ध थिए । हालको युरोपेली देशहरू र पाकिस्तानबीच कुनैपनि प्रत्यक्ष उडानहरू छैनन् । बेलायत र पाकिस्तानबीचको सेवा भने ब्रिटिश एयरवेजले लन्डन ग्याटविक र इस्लामाबादबीच हप्तामा ३ पटक सञ्चालन गरिरहेको थियो । एजेन्सीको सहयोगमा