वासिङ्टनडीसी(अमेरिका) । अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउदै उनीहरुले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्स मार्फत समाचार सम्प्रेषण गरेका हुन ।
“आज, मसँग मध्य पूर्वका लागि राम्रो समाचार छ, मैले लेबनान र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरी यस्तो घोषणा गर्न पाउँदा खुसी छु उनीहरूले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेका छन् ,” बाइडेनले एक्समा उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपतिलाई समर्थन गर्दै इजरायलले जारी गरेको विज्ञप्तिमा “प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले राष्ट्रपति जो बाइडेनसँग कुरा गरी लेबनानमा युद्धविराम सम्झौता हासिल गर्नका लागि इजरायललाई दिएको स्वतन्त्रताको लागि धन्यवाद दिएको छ ।” अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले जारी गरेको संयुक्त विज्ञप्तीमा, लामो समयको अथक कूटनीति पछि, इजरायल र लेबनानले आफुहरु विचको शत्रुता समाप्त भएको स्वीकार गरेका छन् ।
“घोषणाले लेबनानमा लडाइँ बन्द गर्ने तथा हिजबुल्लाह र अन्य आतङ्कवादी सङ्गठनको खतराबाट इजरायललाई सुरक्षित गर्नेछ । यो घोषणाले स्थायी शान्ति पुनर्स्थापना गर्ने अवस्था सिर्जना गरी दुवै देशका बासिन्दाहरूलाई सुरक्षित रूपमा आफ्नो घर फर्कन अनुमति दिने जनाएको छ ।
अमेरिका र फ्रान्सले इजरायल र लेबनानसँग मिलि गरेको यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गरी द्वन्द्वलाई थप हिंसात्मक बन्नबाट रोक्न कटिबद्ध रहेको बताएका छन् । अमेरिका र फ्रान्सले लेबनानी सेनाको क्षमता वृद्धि गरी यस क्षेत्रको स्थिरता र समृद्धिलाई अगाडि बढाउन लेबनानमा आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय प्रयासहरूको नेतृत्व र समर्थन गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि सामाजिक सञ्जाल मार्फत यो समाचार साभार गर्दै आफु इजरायल र लेबनानबीचको युद्धविराम सम्झौतालाई स्वागत गर्न चाहेका बताएका छन् । आफ्नो भाषणमा राष्ट्रपति बाइडेनले हमासले गत अक्टोबरमा गरेको आक्रमणको भोलिपल्ट देखि युद्ध सुरु भएको जनाउदै इजरायलले युद्ध शुरू नगरेको तथा लेबनान र अमेरिकाले त्यो युद्ध नचाहेको बताएका छन् ।
बाइडेनले हिजबुल्लाहसँगको युद्ध सुरु भएदेखि ७० हजार भन्दा बढी इजरायली तथा तीन लाख भन्दा बढी लेवनानी आफ्नै देशमा शरणार्थीका रूपमा बस्न बाध्य भएको जनाउनु भएको छ । इजरायल र लेबनानका जनताका लागि स्थायी सुरक्षा युद्धको मैदानमा मात्र प्राप्त गर्न नसकिने बताउदै सम्झौता सीमापारको लडाइँ समाप्त गरी शत्रुताको स्थायी अन्त्यका लागि डिजाइन गरिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
घोषणा अनुसार “आगामी ६० दिनमा, लेबनानी सेना एक पटक आफ्नो क्षेत्रको नियन्त्रण लिन तैनाथ हुनेछन् । दक्षिणी लेबनानमा हिजबुल्लाह आतंकवादी पूर्वाधार पुनर्निर्माण गर्न अनुमति दिइने छैन । आगामी ६० दिन भित्र, इजरायलले सेना फिर्ता गर्नेछ । अन्ततः दुवै पक्षका नागरिकहरू, चाँडै सुरक्षित रूपमा आफ्नो घर समुदायमा फर्र्की आफ्नो व्यवसाय सञ्चालन र जीवन यापनमा सक्रिय हुने छन् । बाइडेनले फ्रान्स र अन्य साझेदारहरूसँग मिलेर सम्झौता पूर्ण र प्रभावकारी रूपमा कार्यान्वयन गरी सुरक्षाको सुनिश्चित गर्न आवश्यक सहयोग प्रदान गरिने बताउदै यो प्रयासले लामो समयदेखि द्वन्द्वमा संलग्न इजरायल र लेबनानको भविष्य सुरक्षित हुने उल्लेख गरेका छन् । रासस/एएनआई